बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ५० प्रतिशतभन्दा बढी मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ ।
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा रहेका १०७ मतदानस्थलमध्ये जिल्ला सुरक्षा समितिले गरेको अनुगमनका आधारमा ५५ मतदानस्थल अति संवेदनशील रहेको पाइएको छ । बागलुङमा कायम भएका १०७ मतदानस्थलमध्ये ५५ अति संवेदनशील, २४ संवेदनशील र २८ सामान्य रहेको जिल्ला सुरक्षा समितिका संयोजक एवं बागलुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए।
बागलुङमा प्रतिनिधिसभाको निर्वाचनमा १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको छ । जसमध्ये सुरक्षा संवेदनशिलता, मतदाताको सङ्ख्या, भौगोलिक विकटता, सडकको पहुँच, मतदानस्थलको पूर्वाधार र यस अघिका निर्वाचनको गतिविधिका आधारमा अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थललाई वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रजिअ आचार्यले जानकारी दिए ।
निर्वाचनको समयमा सर्वसाधारणलाई असुरक्षित महसुस हुन नदिन जिल्ला सुरक्षा समिति र जिल्लाका सुरक्षा निकायले सबै तयारी गरिरहेको उनको भनाइ छ । निर्वाचनमा निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक स्थानमा नेपाली सेनाले सुरक्षा दिने तयारी भइरहेको छ । यातायातका साधनको सरल पहुँच नभएको मतदानस्थलमा बैकल्पिक सुरक्षा व्यवस्था, यातयातको साधन लगायको व्यवस्था समेतमा थप ध्यान दिने प्रजिअ आचार्यले बताए ।
यस पटकको निर्वाचनमा एक मतदानस्थल थप तथा र एक मतदान केन्द्र घटाएर १०७ मतदानस्थल र २३० मतदान केन्द्र कायम गरिएको हो । यस्तै दुई मतदानस्थललाई स्थानान्तरण गरिएको छ । बागलुङमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कूल एक लाख ९३ हजार ३८१ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ९४ हजार ८०६ पुरुष र ९८ हजार ५७४ महिला मतदाता छन् ।
बागलुङका सबै उम्मेदवार योग्य
बागलुङका सबै उम्मेदवार योग्य ठहरिएका छन् । दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा २३ जनाको उम्मेदवारी परेको छ । मनोनयनमा दाबी बिरोध गर्ने समयमा २३ जना विरुद्ध कुनै पनि उजुरी नआएपछि बागलुङका सबै उम्मेदवार योग्य ठहरिएका छन् । बागलुङबाट प्रतिनिधिसभाको दुई पदका लागि २३ जना चुनावमा होमिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरणअनुसार मनोनयन दर्ता गराएका सबै उम्मेदवार योग्य भएपछि अब मनोनयन दर्ता फिर्तापछि मतपत्र छापिने छ । दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको बागलुङमा मनोनयनपत्र दर्ता गरेका उम्मेदवार विरुद्ध उजुरी दिने समय तालिका भित्र कुनै उजुरी नपरेको सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए ।
बागलुङ क्षेत्र नम्बर एकमा ११ दलका ११ जनाले उम्मेदवारी दिएका छन् भने बागलुङ क्षेत्र नम्बर २ मा १२ दलका १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नं. १ मा नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मङ्गोल नेशनल अर्गनाइजेशनका गुमाकुमारी बुढा रानामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का, नेपाल कम्युनिष्ट पार्टी एमालेका हिराबहादुर केसी, प्रगतिशल लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली कांग्रेसका भीमबहादुर श्रीस रानाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।
नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्णप्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिष्ट पार्टी माओवादीका टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर दुईमा नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेकपा (एमाले)बाट मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिष्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय स्वतन्त पार्टीबाट सोम शर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अञ्चल शाही, श्रम संस्कृति पार्टीका हर्कबहादुर पुन, नेकपा (माओवादी)का लोकेन्द्र घिमिरेले उम्मेदवारी दिएका छन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका पदम कुँवर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, मङ्गो नेशलन अर्गनाइजेशनबाट जुनबहादुर थापामगर, जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती र नेशनल रिपब्लिक पार्टीका नरबहादुर बुढाले उम्मेदवारी दर्ता गर्नुभएको निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए ।


















प्रतिक्रिया