बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर पाँचौँ पटक युवा उद्यमी सम्मेलन बुटवलमा सम्पन्न भएको छ । देशका विभिन्न क्षेत्रबाट आएका चर्चित तथा नवोदित युवा उद्यमीहरूको सहभागितामा सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले आफ्नो आशा र भरोसा युवा उद्यमीहरूमाथि रहेको उल्लेख गर्दै उद्यमी सफल बन्न जनतासँग प्रत्यक्ष रूपमा जोडिएका क्षेत्रमा लगानी आवश्यक रहेको बताए । उनले दिनप्रतिदिन युवा उद्यमीहरूको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै स्थानीय आवश्यकता र जनजीवनसँग सम्बन्धित उद्यममा युवाहरू अग्रसर हुनुपर्नेमा जोड दिए ।
युवा उद्यमशीलता विकास, नयाँ उद्यमीको खोजी, स्वदेशभित्र रहेका अवसर र सम्भावनाको पहिचान गर्दै युवाहरूलाई देशमै भविष्य निर्माण गर्न प्रेरित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष आदर्श श्रेष्ठले जानकारी दिए । सम्मेलनले युवा उद्यमशीलतालाई प्रवर्द्धन, विकास र विस्तार गर्ने विषयमा केन्द्रित भएर सरोकारवाला निकाय, उद्यमशीलता प्रवर्द्धनमा लागेका अभियान र युवाहरूबीच संवादको वातावरण सिर्जना गरेको उनको भनाइ छ ।
कार्यक्रममा युवा उद्यमी नेपालका संस्थापक बालकृष्ण जोशीले युवा शक्ति नै मुलुकको मेरुदण्ड भएको उल्लेख गर्दै सानो–सानो छरिएको पुँजीलाई एकीकृत गरेर लगानी गर्न युवाहरुलाई आग्रह गरे । यस्तै, युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष सुदिप घिमिरेले एआई (कृत्रिम बुद्धिमत्ता) लाई उद्यमशीलता विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखे ।
सम्मेलनमा विभिन्न विषयमा आधारित वर्कशप तथा सेसनहरू पनि सञ्चालन गरिएका थिए । आइडियाप्रेन्युर नेपालका संस्थापक संजोग कोइरालाले कन्टेन्ट क्रिएसनसम्बन्धी वर्कशप सञ्चालन गरेका थिए भने ‘द कम्युनिकेशन एल्केमी गिल्ड’ की संस्थापक मानसी अग्रवालले ब्रान्ड कसरी निर्माण गर्ने भन्ने विषयमा प्रशिक्षण दिएकी थिइन् ।
यस्तै, सेमिनार सेसनअन्तर्गत टेन्जीबल टपिकका सीईओ आलोक खत्रीले ‘एआई युगमा क्षमता कसरी विकास गर्ने’ विषयमा प्रस्तुति दिएका थिए । सम्मेलनको अर्को महत्वपूर्ण आकर्षण ‘पोस्ट एआई युगमा डिजिटल नेतृत्व’ विषयक प्यानल डिस्कसन रहेको थियो ।

प्यानल डिस्कसनमा किङ्स कलेज नेपालका सहायक प्राध्यापक कृष्ण खनाल, काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बा, आरबाइट सोलुसन्सका निर्देशक अविनाश कुण्डलिया, मार्केटिङ कन्सल्ट्यान्ट तथा पर्सनल ब्रान्डिङ कोच रिया श्रेष्ठ र टीमक्वेस्ट प्रालिकी जीएम तृप्ति गिरी सहभागी थिए । प्यानल डिस्कसनको सहजीकरण ड्राबिड सुवेदीले गरेका थिए ।
कार्यक्रमको सञ्चालन मिस नेपाल २०१० सदिच्छा श्रेष्ठले गरेकी थिइन् । सम्मेलन संयोजक प्रतीक कजुले सम्मेलनले युवा उद्यमीहरूबीच नेटवर्क विस्तार, नवोदित उद्यमीहरूलाई प्रेरणा, व्यवसायिक भावना विकास, नयाँ व्यवसाय सुरु गर्ने प्रक्रिया, अवसर र चुनौतीबारे गहिरो छलफल गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।
सम्मेलनमा देशभरबाट युवा उद्यमी र विद्यार्थी गरी करिब ५ सयभन्दा बढीको सहभागिता रहेको थियो । साथै सम्मेलनस्थलमा ‘मेड इन नेपाल’, एआई टेक, डिजिटल मिडिया तथा रोजगारीसम्बन्धी १२ वटा स्टलहरू राखिएका थिए । यी स्टल तथा सम्मेलनले सहभागीहरूलाई नेटवर्किङ, रोजगारीका अवसर, सहकार्य र व्यावसायिक सम्भावना सिर्जना गर्ने प्रभावकारी प्लेटफर्मको रूपमा काम गरेको आयोजकको भनाइ छ ।


















प्रतिक्रिया