१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बुटवलमा पाँचौँ युवा उद्यमी सम्मेलन सम्पन्न, ‘जनतासँग जोडिएको क्षेत्रमा लगानी गरौँ’ : नगर प्रमुख पाण्डे



बुटवल । नेपाली युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा राजधानी बाहिर पाँचौँ पटक युवा उद्यमी सम्मेलन बुटवलमा सम्पन्न भएको छ । देशका विभिन्न क्षेत्रबाट आएका चर्चित तथा नवोदित युवा उद्यमीहरूको सहभागितामा सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा बोल्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले आफ्नो आशा र भरोसा युवा उद्यमीहरूमाथि रहेको उल्लेख गर्दै उद्यमी सफल बन्न जनतासँग प्रत्यक्ष रूपमा जोडिएका क्षेत्रमा लगानी आवश्यक रहेको बताए । उनले दिनप्रतिदिन युवा उद्यमीहरूको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै स्थानीय आवश्यकता र जनजीवनसँग सम्बन्धित उद्यममा युवाहरू अग्रसर हुनुपर्नेमा जोड दिए ।

युवा उद्यमशीलता विकास, नयाँ उद्यमीको खोजी, स्वदेशभित्र रहेका अवसर र सम्भावनाको पहिचान गर्दै युवाहरूलाई देशमै भविष्य निर्माण गर्न प्रेरित गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष आदर्श श्रेष्ठले जानकारी दिए । सम्मेलनले युवा उद्यमशीलतालाई प्रवर्द्धन, विकास र विस्तार गर्ने विषयमा केन्द्रित भएर सरोकारवाला निकाय, उद्यमशीलता प्रवर्द्धनमा लागेका अभियान र युवाहरूबीच संवादको वातावरण सिर्जना गरेको उनको भनाइ छ ।

कार्यक्रममा युवा उद्यमी नेपालका संस्थापक बालकृष्ण जोशीले युवा शक्ति नै मुलुकको मेरुदण्ड भएको उल्लेख गर्दै सानो–सानो छरिएको पुँजीलाई एकीकृत गरेर लगानी गर्न युवाहरुलाई आग्रह गरे । यस्तै, युवा उद्यमी मञ्चका केन्द्रीय अध्यक्ष सुदिप घिमिरेले एआई (कृत्रिम बुद्धिमत्ता) लाई उद्यमशीलता विकासमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा आफ्नो धारणा राखे ।

सम्मेलनमा विभिन्न विषयमा आधारित वर्कशप तथा सेसनहरू पनि सञ्चालन गरिएका थिए । आइडियाप्रेन्युर नेपालका संस्थापक संजोग कोइरालाले कन्टेन्ट क्रिएसनसम्बन्धी वर्कशप सञ्चालन गरेका थिए भने ‘द कम्युनिकेशन एल्केमी गिल्ड’ की संस्थापक मानसी अग्रवालले ब्रान्ड कसरी निर्माण गर्ने भन्ने विषयमा प्रशिक्षण दिएकी थिइन् ।

यस्तै, सेमिनार सेसनअन्तर्गत टेन्जीबल टपिकका सीईओ आलोक खत्रीले ‘एआई युगमा क्षमता कसरी विकास गर्ने’ विषयमा प्रस्तुति दिएका थिए । सम्मेलनको अर्को महत्वपूर्ण आकर्षण ‘पोस्ट एआई युगमा डिजिटल नेतृत्व’ विषयक प्यानल डिस्कसन रहेको थियो ।

प्यानल डिस्कसनमा किङ्स कलेज नेपालका सहायक प्राध्यापक कृष्ण खनाल, काठमाडौं फिनटेकका संस्थापक सञ्जीव सुब्बा, आरबाइट सोलुसन्सका निर्देशक अविनाश कुण्डलिया, मार्केटिङ कन्सल्ट्यान्ट तथा पर्सनल ब्रान्डिङ कोच रिया श्रेष्ठ र टीमक्वेस्ट प्रालिकी जीएम तृप्ति गिरी सहभागी थिए । प्यानल डिस्कसनको सहजीकरण ड्राबिड सुवेदीले गरेका थिए ।

कार्यक्रमको सञ्चालन मिस नेपाल २०१० सदिच्छा श्रेष्ठले गरेकी थिइन् । सम्मेलन संयोजक प्रतीक कजुले सम्मेलनले युवा उद्यमीहरूबीच नेटवर्क विस्तार, नवोदित उद्यमीहरूलाई प्रेरणा, व्यवसायिक भावना विकास, नयाँ व्यवसाय सुरु गर्ने प्रक्रिया, अवसर र चुनौतीबारे गहिरो छलफल गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

सम्मेलनमा देशभरबाट युवा उद्यमी र विद्यार्थी गरी करिब ५ सयभन्दा बढीको सहभागिता रहेको थियो । साथै सम्मेलनस्थलमा ‘मेड इन नेपाल’, एआई टेक, डिजिटल मिडिया तथा रोजगारीसम्बन्धी १२ वटा स्टलहरू राखिएका थिए । यी स्टल तथा सम्मेलनले सहभागीहरूलाई नेटवर्किङ, रोजगारीका अवसर, सहकार्य र व्यावसायिक सम्भावना सिर्जना गर्ने प्रभावकारी प्लेटफर्मको रूपमा काम गरेको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : ११ माघ २०८२, आइतबार  ११ : ०२ बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने