काठमाडौं । काठमाडौं उपत्यकासहित तराई-मधेशका विभिन्न जिल्लामा आज बिहान बाक्लो हुस्सु र कुहिरो लागेको छ ।
कुहिरोका कारण भिजिबिलिटी अत्यन्तै कम हुँदा हवाई उडानहरू प्रभावित भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका जिल्लासँगै काठमाडौं उपत्यकामा पनि अहिले कुहिरोका कारण भिजिबिलिटी घटेको छ ।
काठमाडौं उपत्यकामा हाल कुहिरोका कारण दृश्यता करिब ८ सय मिटर मात्र रहेको छ । जसका कारण कठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको छ । यस्तै भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीलगायतका विमानस्थलहरूमा आज बिहानका उडानहरू ढिला भएका छन् ।
मौसमविद्का अनुसार तराईका अधिकांश स्थानमा पनि हुस्सु-कुहिरो अझ बाक्लो छ । “त्यहाँको भिजिबिलिटी पनि १०० देखि २०० मिटर मात्र छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हिजो परेको पानीका कारण हुस्सु–कुहिरो बनेको हो । वाष्पीकरणको समयमा माथिल्लो वायुमण्डल चिसो भएकाले पानीका साना कणहरू जमिन नजिकै अड्किँदा हुस्सु-कुहिरो देखिएको विभागको व्याख्या छ ।
मौसमविद्हरूका अनुसार काठमाडौं उपत्यकामा लागेको कुहिरो दिउँसोदेखि क्रमशः हट्दै जाने सम्भावना छ । तर तराई क्षेत्रमा लागेको हुस्सु-कुहिरो भने दिउँसो पनि हट्ने सम्भावना न्यून छ ।

















प्रतिक्रिया