काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८ जना यात्रु घाइते भएका छन् । दाङबाट काठमाडौं आउँदै गरेको बस आज बिहान करिब ३ बजेर १० मिनेटमा सडकमा पल्टिएको हो ।
लुम्बिनी प्रदेश ०२-००१ ख ०४६६० नम्बरको उक्त नाइट बस मुग्लिन-नारायणगढ खण्डको ‘घुमाउने’ भन्ने स्थानमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि तत्कालै प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो ।
घाइते यात्रुहरूलाई उपचारका लागि भरतपुर र मुग्लिनका विभिन्न अस्पतालहरूमा पठाइएको छ । प्रहरीका अनुसार मौलाकालिका अस्पताल भरतपुरमा १५ जना, पुरानो मेडिकल कलेज भरतपुरमा १३ जना, नयाँ मेडिकल कलेज भरतपुरमा ४ जना र जनता केयर अस्पताल मुग्लिनमा ६ जना घाइतेको उपचार भइरहेको छ ।
बस पल्टिएपछि केही समयका लागि अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड हाल पूर्ण रूपमा खुलिसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको र यससम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको छ ।

















प्रतिक्रिया