१८ माघ २०८२, आइतबार | February 1, 2026

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता



झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरूको मनोनयन दर्ता भएसँगै देशका अधिकांश सहरी तथा ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढ्न थालेको छ ।

सामाजिक सञ्जालदेखि चिया पसल, चौतारी र बस्तीसम्म ‘यसपालि कसलाई मत हाल्ने’, ‘कस्तो प्रतिनिधि रोज्ने’ भन्ने विषयमा बहस भइरहेका छन् । राजनीतिक दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरू पनि औपचारिक प्रचार सुरु नहुँदै मतदाता भेटघाटमा व्यस्त देखिन थालेका छन् ।

तर, झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गत पर्ने दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाका केही बस्तीमा भने निर्वाचन नजिकिँदै गर्दा पनि अपेक्षित चुनावी गतिविधि देखिन सकेको छैन ।

भारतसँग सिधा जोडिएको यो सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय मतदाताले निर्वाचन हुँदैछ भन्ने जानकारी त पाएका छन्, तर ‘को-को उम्मेदवार छन्’ भन्ने विषयमै अन्योल रहेको बताएका छन् ।

कचनकवल गाउँपालिका-५ का पूर्णकुमार गणेश भन्छन्, ‘समाचार र सामाजिक सञ्जालबाट चुनाव हुँदैछ भन्ने त थाहा छ, तर यहाँबाट को उम्मेदवार उठेका छन् भन्ने जानकारी छैन । पहिलेपहिले चुनाव लडेर गएका नेताहरूको नाम त थाहा छ, तर यसपालि नयाँनयाँ को आउँदैछन् भन्ने थाहा छैन ।’

उहाँका अनुसार अहिलेसम्म न त पुराना दलका उम्मेदवार पुगेका छन्, न त स्वतन्त्र उम्मेदवारी दिएका कुनै व्यक्ति नै स्थानीय बस्तीमा आइपुगेका छन् । ‘भोट माग्न त चुनाव नजिकिँदा आउँलान् भन्ने आशा छ’, उनी भन्छन्, ‘तर अहिलेसम्म त कोही देखिएका छैनन् ।’

कचनकवल–५ कै इद्रिस मियाँ, जमालुद्दिन मियाँ र सोर्जु हजाम पनि यही गुनासो दोहोर्‍याउँछन् । उनीहरूका अनुसार राष्ट्रियस्तरमा चर्चामा रहेका राजनीतिक दल, तिनका शीर्षनेता र समग्र राजनीतिक घटनाक्रमबारे दुर्गम बस्तीका मतदातासमेत जानकार देखिए पनि, आफ्नै निर्वाचन क्षेत्रका उम्मेदवारसँग भने सम्पर्क हुनसकेको छैन ।

स्थानीय इद्रिस मियाँ भन्छन्, ‘रेडियो, मोबाइल र फेसबुकबाट काठमाडौंलगायत चर्चामा रहेका निर्वाचन क्षेत्रमा नेता के गर्दैछन् भन्ने थाहा हुन्छ । तर यहाँबाट चुनाव लड्ने मान्छे को हो भन्ने नै थाहा छैन । उम्मेदवार आफैँ नआउँदा कसरी चिन्ने ?’

उम्मेदवारको सङ्ख्या धेरै भए पनि सीमावर्ती कचनकवल क्षेत्रसम्म उनीहरूको प्रभावकारी पहुँच पुग्न सकेको छैन । सरकार तथा निर्वाचन आयोगको तर्फबाट मतदाता शिक्षासम्बन्धी कार्यक्रम अहिलेसम्म सुरु नहुँदा निर्वाचन प्रक्रिया र सहभागितामाथि प्रश्न उठ्न थालेको छ । सीमावर्ती क्षेत्रका मतदातामा राजनीतिक दल र उम्मेदवारप्रति देखिएको यो दूरीको मुख्य कारण भने निर्वाचनमा देखिँदै आएको पुरानै प्रवृत्ति भएको उनीहरूको बुझाइ छ । ‘चुनावका बेलामा मात्रै बाचा गर्छन्, भोट माग्न आउँछन्, जितेपछि फर्केर हेर्दैनन्’, जमालुद्दिन मियाँको गुनासो छ । उनका अनुसार स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, स्वच्छ खानेपानी, सिँचाइ र रोजगारीजस्ता आधारभूत समस्या वर्षौैंदेखि उस्तै छन् ।

कचनकवल गाउँपालिका झापाको दक्षिणी सीमामा पर्ने दुर्गम क्षेत्र मानिन्छ । यहाँका धेरै बस्ती भारतसँग जोडिएका छन् । सीमापारिका भारतीय बजारमा दैनिक उपभोग्य सामग्री सस्तो पाइने भएकाले स्थानीयले नेपालतर्फ महँगो मूल्य तिर्नु परिरहेको समस्या पनि उठाएका छन् । ‘भारतमा राशन कार्ड, सस्तो खाद्यान्न र स्वास्थ्य सुविधा छ । नेपालमा त्यस्तो सुविधा नहुँदा यहाँका गरिब जनता झन् समस्यामा छन्’, स्थानीय सोर्जु हजामको भनाइ छ ।

यस क्षेत्रका मतदाताहरूले चुनावी उम्मेदवारसँग ठूला भाषणभन्दा पनि आफ्ना दैनिक जीवनसँग जोडिएका यथार्थ समस्या समाधानको अपेक्षा गरेका छन् । तर, अहिलेसम्म उम्मेदवारहरू नै गाउँ नपुगेकाले आफ्नो आवाज कसरी राख्ने भन्ने अन्योल उनीहरूमा देखिन्छ । यद्यपि, केही मतदाता भने मतदानको दिन अझै समय बाँकी रहेकाले उम्मेदवारहरू ढिलोचाँडो आइपुग्ने विश्वास व्यक्त गर्छन् । ‘अहिले औपचारिक प्रचार सुरु भएको छैन । समय आएपछि उम्मेदवार आउने नै छन्’, पूर्णकुमार गणेश भन्छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारलाई आगामी फागुन ४ गतेदेखि फागुन १८ गतेसम्म औपचारिक प्रचारप्रसारको समय निर्धारण गरिसकेको छ ।

आयोगका अनुसार उक्त अवधिमा मात्र सभा, जुलुस, घरदैलो कार्यक्रम, पोस्टर-पम्पलेटलगायत गतिविधि गर्न पाइनेछ । हाल भने उम्मेदवारहरूलाई मतदाता तथा कार्यकर्ता भेटघाट गर्न अनुमति दिइएको छ, तर त्यसका लागि पनि आचारसंहिताले के गर्न पाइने र के नपाइने स्पष्ट रूपमा तोकेको छ ।

झापाको निर्वाचन क्षेत्र नं ३ मा यसपटक १७ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट हरिबहादुर राजवंशी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट डिल्लीराम घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्रप्रसाद लिङ्देन, जनता समाजवादी पार्टी नेपालबाट कर्णलाल राजवंशी, जनमत पार्टीबाट हरसलाल राजवंशी, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट सन्तोष कटुवाल उम्मेदवार छन् ।

त्यसैगरी, उज्यालो नेपाल पार्टीबाट श्यामकृष्ण पाठक, जनता समाजवादी पार्टीबाट विनिताकुमारी राजवंशी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट चन्द्रकला सावा, नेसनल रिपब्लिक पार्टीबाट जयेन मगर, श्रम संस्कृति पार्टीबाट दीपक तिम्सिना, नेपाल मजदुर किसान पार्टीबाट धर्मलक्ष्मी दुवाल (लघु), मङ्गोल नेसनल अर्गनाइजेसनबाट यामकुमार श्रेष्ठ उम्मेदवार रहेका छन् । साथै अभय राजवंशी र मानप्रकाश सङ्ग्रौला स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् ।

उम्मेदवारको सङ्ख्या धेरै भए पनि सीमावर्ती कचनकवल क्षेत्रसम्म उनीहरूको प्रभावकारी पहुँच पुग्न सकेको छैन । सरकार तथा निर्वाचन आयोगको तर्फबाट मतदाता शिक्षासम्बन्धी कार्यक्रम अहिलेसम्म सुरु नहुँदा निर्वाचन प्रक्रिया र सहभागितामाथि प्रश्न उठ्न थालेको छ । स्थानीय तहमा प्रत्यक्ष संवादको अभावका कारण मतदाता र उम्मेदवारबीचको दूरी झन् बढ्ने जोखिम देखिएको छ ।

निर्वाचन नजिकिँदै गर्दा झापाको निर्वाचन क्षेत्र नं ३ अन्तर्गतका सीमावर्ती बस्तीमा उम्मेदवार र राजनीतिक दलको सक्रिय उपस्थिति कति देखिन्छ, त्यसले मतदाताको धारणा र मतदान व्यवहारमा कस्तो प्रभाव पार्छ भन्ने विषय चासोको केन्द्रमा रहने देखिन्छ । दीपक चन्द/रासस

प्रकाशित मिति : १८ माघ २०८२, आइतबार  ९ : ०३ बजे

वीरगन्ज हुँदै छ महिनामा सात अर्ब ६४ करोडको दलहन भित्रियो

वीरगञ्ज । वीरगन्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा रु

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी । सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट-बुटवल सडकखण्डको

नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलामा १८ हजार ८ सय र चाँदी १ हजार ५ सय ६५ रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय गिरावट आएको

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा