बुटवल । बालबालिकामा देखिने अटिजमसम्बन्धी समस्या समयमै पहिचान गर्न प्रारम्भिक कक्षामा अध्यापन गराउने शिक्षक-शिक्षिका तथा अभिभावकलाई जानकारी गराउने उद्देश्यले बुटवलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
पहिलो पाइला नेपाल, बुटवल शाखाको आयोजनामा शनिबार श्रवण हेयरिङ एण्ड चाइल्ड केयर सेन्टरको प्राङ्गणमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बुटवल तथा आसपास क्षेत्रका करिब ४० भन्दा बढी विद्यालयका प्रारम्भिक कक्षामा अध्यापन गराउने शिक्षक-शिक्षिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि टीकाराम न्यौपाने रहेका थिए । संस्थाका सह-सचिव प्रकाश पोख्रेलले सहभागीहरूलाई स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको अध्यक्षता पहिलो पाइला नेपाल, बुटवल शाखाका कार्यबाहक अध्यक्ष गौरव खनालले गरेका थिए । कार्यक्रम संयोजक तथा सञ्चालनको जिम्मेवारी संस्थाका सचिव रुद्र खनालले निर्वाह गरेका थिए ।
कार्यक्रममा वरिष्ठ अडियोलोजिस्ट तथा स्पिच ल्याङ्ग्वेज प्याथोलोजिस्ट बिद्वान भुसाल, वरिष्ठ अप्टोमेट्रिस्ट सन्तोष क्षेत्री तथा फिजियोथेरापिस्ट रक्षा रेग्मीले सहजीकरण गरेका थिए । उनीहरूले अटिजम भएका बालबालिकामा देखिने प्रारम्भिक लक्षण, कक्षाकोठामा देखिने व्यवहार, पहिचानका उपाय, आवश्यक उपचार विधि तथा सहयोगका उपायबारे व्यवहारिक प्रस्तुतीकरणमार्फत जानकारी दिएका थिए ।
सहकार्यका रूपमा श्रवण हेयरिङ एण्ड चाइल्ड केयर सेन्टर प्रा.लि. रहेको कार्यक्रममा सहभागी शिक्षक-शिक्षिकाहरूले यस्ता अभिमुखीकरण कार्यक्रमले प्रारम्भिक तहमै बालबालिकाको समस्या पहिचान गर्न सहज हुने प्रतिक्रिया दिएका थिए ।
आयोजक संस्था पहिलो पाइला नेपाल, बुटवल शाखाले आगामी दिनमा पनि शिक्षा, बालबालिका तथा समावेशी शिक्षासँग सम्बन्धित सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

















प्रतिक्रिया