१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा



रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध दिवस मनाउँदै छ । जनयुद्धको सुरुआत भएको रुकुमपूर्वमा सहिद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र रुकुमेलीसँग जनयुद्ध दिवस मनाउन पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व आइपुगेका छन ।

विसं २०५२ फागुन १ गते तत्कालीन माओवादीले सुरु गरेको जनयुद्ध दश वर्षसम्म चलेको थियो । जनयुद्धका प्रमुख नेता प्रचण्ड पहिलोपटक रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउन आएका हुन । रुकुमपूर्व जनयुद्धको उपलब्धि सङ्घीयतापछि बनेको कान्छो जिल्ला हो । सङ्घीयताले जन्माएको रुकुमपूर्वबाट उनी प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन ।

भूमे गाउँपालिका-२ खाबाङ बगरमा आज आयोजना हुने जनयुद्ध दिवसमा नेकपाका संयोजक प्रचण्डले सहिद परिवारलाई सम्मान गर्नुहुने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टी रुकुमले जनाएको छ । रुकुमपूर्वमा २५२ जना सहिद छन् ।

क्रान्ति र शान्ति सुरुआत गर्ने रुकुम

राजतन्त्रको अन्त्य र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्यका साथ तत्कालीन नेकपा (माओवादी)ले २०५२ फागुन १ गते जनयुद्धको सुरुआत गरेको थियो । रुकुमको आठबीसकोट प्रहरी चौकी, रोल्पाको होलरी प्रहरी चौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरी चौकी र गोरखाको च्याङ्लीको कृषि विकास बैंकमा आक्रमण गरी माओवादीले जनयुद्ध सुरुआत गरेको थियो ।

जनयुद्ध अगाडि बढाउन माओवादीले रुकुम (पश्चिम र पूर्वी) र रोल्पालगायत जिल्लालाई आधार इलाका बनाएको थियो । रुकुमपूर्वलाई आधार इलाका बनाउन जिल्लामा रहेका प्रहरी कार्यालयहरूमाथि चरणबद्ध आक्रमण गरेर सफलता पाएको थियो ।

विसं २०५३ वैशाख २३ मा उपल्लो सेराको छेरावाङमा माओवादीले एक प्रहरीको ज्यान जाने गरी प्रहरीलाई पहिलोपटक एम्बुस धरापमा पारेको थियो । विसं २०५४ माघ १६ गते क्युवाङमा एम्बुस आक्रमण गरेर माओवादीले नेपालमै पहिलोपटक थ्रीनट राइफल कब्जा गरेको थियो ।

माओवादीले २०५६ असोज ५ महतमा रहेका प्रहरीमाथि आक्रमण गरेर कब्जा गर्नुका साथै प्रहरी नायब उपरीक्षक ठूले राईसहितका प्रहरी जवानहरूलाई नियन्त्रणमा लिएको थियो । राई जनयुद्धमा माओवादी नियन्त्रणमा परेका उच्च प्रहरी अधिकारी थिए । माओवादीले आफ्ना शीर्षनेता देव गुरुङसँग राईलाई साटफेर गरेको थियो । विसं २०५७ चैतमा रुकुमकोट चौकी आक्रमण गरी पूर्ण कब्जा गरेको थियो । त्यस आक्रमणमा ३२ प्रहरी र आठ छापामार गरी ४० जनाको ज्यान गएको थियो ।

विसं २०६१ माघमा रुकुमको लाबाङमा बसेको माओवादी पोलिटब्यूरो बैठकले डा बाबुराम भट्टराईलाई पार्टीबाट कारबाही गरेको थियो । विसं २०६२ असोजमा रुकुमको चुनवाङमा बसेको तत्कालीन नेकपा (माओवादी)को केन्द्रीय समितिको बैठकले लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गर्दै शान्तिपूर्ण राजनीतिक यात्रा तय गरेको थियो । माओवादीको चुनवाङ बैठकको निर्णय कार्यान्वयनका क्रममा सात राजनीति दलबीच १२ बुँदे सहमति भएको थियो । सो सहमतिअनुसार जनयुद्ध र जनआन्दोलनको संयोजनबाट राजतन्त्रको अन्त्य हुनुका साथै गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक प्रणाली स्थापना भई शान्ति स्थापना भएको थियो ।

क्रान्ति र शान्ति स्थापनाको सुरुआत भएको रुकुमपूर्वबाट नेकपाका संयोजक प्रचण्ड प्रतिनिधिसभा सदस्य उम्मेदवार छन । आज जनयुद्ध दिवस मनाउनुअघि संयोजक प्रचण्डले छापामारले प्रहरी नायब उपरीक्षक ठूले राईलाई नियन्त्रणमा लिएको महतगाउँ र बाबुराम भट्टराईलाई कारबाही गर्नेगरी बैठक बसेको लावाङगाउँको भ्रमण गर्नेछन । उनले ती गाउँमा जनभेटघाट गर्नेछन । प्रचण्ड आजै चुनवाङ पुग्ने कार्यक्रम छ । सर्जना कार्की/रासस

प्रकाशित मिति : १ फाल्गुन २०८२, शुक्रबार  ८ : १३ बजे

खगोल विज्ञान ओलम्पियाड राष्ट्रिय चरणमा प्रवेश

काठमाडौं । नेपाल एस्ट्रोनोमिकल सोसाइटी १३औँ राष्ट्रिय खगोल विज्ञान ओलम्पियाड

काठमाडौं-२ नयाँ र पुराना अनुहार, ‘एजेन्डा’ समान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै काठमाडौं निर्वाचन क्षेत्र

शान्तिपूर्ण निर्वाचनका लागि प्रधानमन्त्रीले गरिन पाथीभरा मातासँग प्राथना

ताप्लेजुङ । प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति गरिएको

आज ३० औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा

रुकुमपूर्व । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३० औँ जनयुद्ध