काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने साधुसन्तलाई प्रदान गरिने सामग्रीको सङ्कल्प गरेका छन् ।
प्रत्येक वर्ष फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रिमा विश्वका विभिन्न स्थानबाट पशुपतिनाथ आउने साधुको बिदाइमा दिइने सामग्री एकादशीका दिन बिहान सङ्कल्प गर्ने परम्परा छ । सङ्कल्पमा लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणासहित २१ प्रकारका सामग्री समावेश गरिएको गुठी संस्थानका प्रवक्ता एवं कानुन अधिकृत जनक पोखरेलले जानकारी दिए । सङ्कल्प गरिएको सामग्री मूल साधुलाई दिने गरिएको छ ।
संस्थानको स्थापना भएदेखि नै महाशिवरात्रिका अवसरमा पशुपतिमा आउने साधुसन्तको धुनी, खाना र बिदाइस्वरुप दक्षिणाको व्यवस्थाको जिम्मेवारी पूरा गर्दै आएको छ । पशुपति क्षेत्रमा आउने साधुसन्तका लागि फागुन कृष्ण एकादशीदेखि औँसीसम्म धुनीका लागि दाउरा, खाना र बिदाइका बेला दक्षिणा दिने परम्परा छ । साधुको बिदाइ औँसीका दिन गरिन्छ ।
साधुसन्त आआफ्नो सम्प्रदायअनुसारका अखडामा बस्ने गर्छन् । करिब तीन हजारभन्दा बढी साधुसन्त पशुपतिमा आइसकेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । चार सयभन्दा बढी नागाबाबा भने पशुपतिनाथको मूल मन्दिर परिसरमा बस्ने कोषले जनाएको छ ।
आज बिहानदेखि नागाबाबा पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गरेको संस्थानले जनाएको छ । औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्रै नागाबाबा बस्न पाउने परम्परा छ ।
साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको सङ्कल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा प्राचीनकालदेखि रहिआएको छ । यसबाहेक कोषले पनि धुनी, खाना र बिदाइका लागि बेग्लै व्यवस्था गर्छ । कोष स्थापना हुनुअघि संस्थानले सबै व्यवस्था गर्ने गरेको थियो ।
प्रत्येक वर्ष महाशिवरात्रिमा पशुपतिमा भक्तजनको सङ्ख्या बढ्न थालेपछि स्थापनासँगै कोषले पनि साधुसन्तका लागि धुनी, खाना र बिदाइमा बजेट विनियोजन गर्न थालेको हो । पशुपतिनाथ मूल मन्दिरभित्र रहेका नागाबाबा, गोरखनाथ, निर्मल अखडा, भष्मेश्वर घाटअघिको अखडा, राममन्दिरलगायत स्थानमा संस्थानका तर्फबाट आज बेलुकीदेखि धुनीका लागि दाउरा, खानाको व्यवस्थासमेत गरिने प्रवक्ता पोखरेलले जानकारी दिए ।
त्यसैगरी, थापाथलीको गोरखनाथ, वैरागी, सन्यासी र उदासी अखडाका साधुसन्तलाई भने फागुन कृष्ण द्वादशी अर्थात् शनिबारदेखि खाना र धुनीका लागि दाउराको व्यवस्था गरिन्छ । गुठी संस्थानले साधुसन्तका लागि धुनी, खाना एवं दक्षिणा दिई बिदाइ गर्न रु ४० लाख बजेट विनियोजन गरेको जनाएको छ ।

















प्रतिक्रिया