बुटवल । नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार चुन्नप्रसाद शर्मा पौडेलले तिलोत्तमा-६ स्थित मोक्षधाममा दर्शन गरी चुनावी प्रचारप्रसारको औपचारिक सुरुआत गरेका छन् । निर्वाचन आयोगले तोकेको समयअनुसार सोमबारदेखि उनले घरदैलो अभियान सुरु गरेका हुन् ।
घरदैलो अभियानअन्तर्गत पौडेलले स्थानीय बासिन्दाको घरघरमा पुगेर कृषक, व्यवसायी, श्रमिक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेका छन् । भेटका क्रममा स्थानीयले कृषि उत्पादनको बजार व्यवस्थापन, व्यवसायिक चुनौती, रोजगारी अभाव तथा विकासका प्राथमिकताबारे आफ्ना समस्या र सुझाव राखेका थिए । पौडेलले मतदाताका गुनासा र सुझावलाई आफ्नो कार्ययोजनामा समेटेर व्यवहारमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पश्चिम पहुनीबाट सुरु भएको घरदैलो अभियान गोरकट्टा, १२ नम्बर चोक हुँदै मणिग्रामसम्म पुगेको थियो । अभियानमा समानुपातिक उम्मेदवार रिता सेन, क्षेत्रीय सभापति प्रजापाल गिरी, तिलोत्तमा-६ का सभापति युवराज भण्डारीलगायत काँग्रेसका नेता-कार्यकर्ता तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।
उम्मेदवार पौडेलले घरदैलो अभियानमार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै विकास, रोजगारी र स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर अघि बढ्ने आफ्नो प्रतिबद्धता दोहोर्याएका छन् ।

















प्रतिक्रिया