बुटवल । उज्यालो नेपाल पार्टीका तर्फबाट रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार सुरज पाण्डेले सामाजिक सञ्जालमार्फत “निर्वाचन, सार्वभौमिकता र मतदाताको विवेक” शीर्षकमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । पछिल्लो समय बिबिसी द्वारा निर्माण गरिएको एक डकुमेन्ट्री चलचित्र सामाजिक सञ्जालमा भाइरल बनेपछि उत्पन्न बहसबारे टिप्पणी गर्दै उनले उक्त सामग्रीमा एक पक्षीय रूपमा कथावाचन प्रस्तुत गरिएको बताएका छन् ।
पाण्डेले नेपाल एक सार्वभौम राष्ट्र भएको उल्लेख गर्दै संविधानले देशभित्रका राजनीतिक, सामाजिक तथा द्वन्द्वसम्बन्धी विषयहरूको अध्ययन तथा अनुसन्धानका लागि स्वायत्त आयोगहरूको व्यवस्था गरेको स्मरण गराएका छन् । ती आयोगहरूले आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको र प्रक्रिया जटिलताका कारण केही प्रतिवेदन समयमै सार्वजनिक हुन नसके पनि आयोगको निर्णय नै आधिकारिक र मान्य आधार हुने उनको भनाइ छ ।
निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा विदेशी सञ्चारमाध्यमबाट नेपालको आन्तरिक विषयलाई एक पक्षीय ढंगले प्रस्तुत गरिनु बहसको विषय बन्न सक्ने उल्लेख गर्दै उनले आन्तरिक राजनीतिक तथा सामाजिक मुद्दा संवैधानिक संयन्त्रमार्फत नै समाधान हुनुपर्ने धारणा राखेका छन् ।
उनले निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा व्याख्या गर्दै मतदाताले बाह्य प्रचार वा भावनात्मक बहसभन्दा माथि उठेर तथ्य, नीति र उम्मेदवारको क्षमताका आधारमा निर्णय गर्नुपर्ने बताएका छन् ।
उम्मेदवार छनोट गर्दा ‘एबीसीडी’ सूत्र अपनाउन उनले आग्रह गरेका छन् – एजेण्डा, बिबेक, चेतना र डेलिभरी । विदेशी सामग्रीले क्षणिक चर्चा ल्याउन सक्ने भए पनि राष्ट्रको भविष्य निर्धारण गर्ने शक्ति अन्ततः नेपाली मतदाताकै हातमा रहेको उनले उल्लेख गरेका छन् । सचेत र विवेकी निर्णयमार्फत लोकतन्त्रलाई बलियो बनाउनुपर्ने उनको आग्रह छ ।


















प्रतिक्रिया