१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

राजनीतिक दल नभई केही समूह निर्वाचन विथोल्न सक्रिय छन् : गृहमन्त्री अर्याल



नेपालगन्ज । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुरक्षा तयारीको सम्पूर्ण काम पूरा भएको बताएका छन् ।

यही फागुन २१ गते हुने निर्वाचनका क्रममा आवश्यक सुरक्षा व्यवस्थाकाबारेमा जानकारी लिने उद्देश्यले आज नेपालगन्ज आइपुगेका गृहमन्त्री अर्यालले भयरहित वातावरणमा मतदान गर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

आज बाँकेको नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वच्छ, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारले कुनै पनि कसर बाँकी नराख्ने स्पष्ट गर्दै ढुक्क भएर मतदान गर्न देशवासीसँग अनुरोध गरे ।

गृहमन्त्री अर्यालले जिल्लास्थित प्रमुखहरुसँगको भेटघाटपछि पत्रकार सम्मेलनमा भने, “बाँके जिल्लाको निर्वाचन सुरक्षाको अवस्था र व्यवस्थासहित रणनीति बुझ्ने क्रममा यहाँ आएको हुँ । सम्बद्ध सुरक्षा प्रमुखहरुबाट समग्र विषयवस्तुका बारेमा जानकारी प्राप्त भयो । सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइएको छ, निर्धक्क भएर मतदान गर्न सबैसँग अनुरोध गर्दछु ।”

गृहमन्त्री अर्यालले जिल्ला सुरक्षा समिति, प्रमुख जिल्ला अधिकारी र मुख्य निर्वाचन अधिकृतलगायत निर्वाचनसँग सम्बन्धित सबै निकायको कामकारबाहीसहित आउनसक्ने चुनौतीको पूर्वतयारी सन्तोषजनक रहेको बताए ।

उनले अहिले समग्र देशको सुरक्षा अवस्था सुदृढ भएको र देशव्यापी रुपमा निर्वाचनको माहोल बनेकाले अत्यधिक जनताको सहभागितासहित उल्लासमय वातावरणबीच शान्तिपूर्ण ढङ्गबाट निर्वाचन सफल हुने विश्वास व्यक्त गरे ।

कहीँकतैबाट निर्वाचन बिथोल्न प्रयास हुनसक्नेतर्फ सचेत गराउँदै गृहमन्त्री अर्यालले भने, “राजनीतिक दल नभई केही समूह त्यसमा सक्रिय छन् । त्यस्ता समूहलाई हामीले नियन्त्रणमा लिएका छौँ र लिन्छौँ पनि । जसले कानुनविपरीत काम गर्छ र मताधिकार जस्तो लोकतान्त्रिक प्रक्रियामा अवरोध गर्छ, तिनीहरूलाई नियन्त्रणमा लिएर कानुनी कारबाही गरिनेछ ।”

उनले एकफरक प्रसङ्गमा बाँके जिल्लामा कायम रहेको धार्मिक सहिष्णुताको प्रशंसा गर्दै गलत तत्वलाई समयमै पहिचान गरी रोकथाम गर्न यहाँको नेतृत्व सफल भएको बताए । सञ्चारकर्मीको जिज्ञासामा गृहमन्त्रीले ‘जेनजी’ आन्दोलनका बेला भएका घटनाको विस्तृत अध्ययन भइरहेको र त्यसका लागि सरकारले समय थप गरेकोसमेत जानकारी दिए ।

गृहमन्त्री अर्यालको भ्रमण टोलीमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललगायत उच्चपदस्थ सुरक्षा अधिकारी छन् । गृहमन्त्री अर्याल सुदूरपश्चिम प्रदेशअन्तर्गतका बझाङ, बाजुरालगायत जिल्लाको सुरक्षा व्यवस्थासम्बन्धी स्थलगत जानकारी लिने क्रममा आज नेपालगञ्ज आइपुगेका हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०८२, आइतबार  ४ : ०८ बजे

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा

काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,

पश्चिम एशियाका १२ देशमा श्रम स्वीकृति अस्थायी रूपमा स्थगित

काठमाडौं । पश्चिम एशिया खाडी क्षेत्रमा विकसित पछिल्लो असहज परिस्थितिलाई

दुई प्रकारका ‘अतिवाद’ विरुद्ध नेकपालाई मत दिन प्रचण्डको आह्वान (भिडियोसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

प्रतिनिधिसभा निर्वाचन : दुई दिनमा काठमाडौंबाट ८० हजार यात्रु बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ-आफ्नो जिल्लातार्फ