२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

नवपुस्ताका मतदाता भन्छन् – ‘हाम्रो भविष्यसँग फेरि खेलबाड नहोस्’



काठमाडौं । निर्वाचनमा यस पटक नयाँपुस्ता अर्थात् ‘जेनजी’ मतदाताको उत्साह उल्लेख्य देखिएको छ । पहिलोपटक मतदान गर्ने वा विदेशबाट फर्किएर मतदानमा सहभागी हुने युवाहरूले आफ्नो मतलाई देशको भविष्यसँग जोडेर हेरेका छन् ।
तीन वर्षदेखि अध्ययनका लागि क्यानडामा बस्दै आएकी २५ वर्षीया सुजानी श्रेष्ठ यस पटकको निर्वाचनमा सहभागी हुन नेपाल फर्किन । डिल्लीबजारस्थित पद्यकन्या विद्याश्रममा मतदान गरेपछि उनले मतदान गर्न पाउँदा यत्साहित भएको प्रतिक्रिया दिइन ।
उच्च शिक्षा र रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य र पारदर्शिता  आगामी सरकारको प्राथमिकता हुनुपर्नेमा श्रेष्ठले जोड दिइन । “यसपटक जसरी पनि मतदान गर्नुपर्छ भनेर म क्यानडाबाट भर्खंरै नेपाल फर्किएको हुँ”, उनले भनिन, “अब बन्ने सरकारको पहिलो प्राथमिकतामा पारदर्शिता, सुशासन पर्नुपर्छ । हाम्रो देशमा भ्रष्टाचार बढी हुनाले युवाहरू विदेशिन बाध्य छन् । देशभित्रै गुणस्तरीय शिक्षा र रोजगारीको अवसर सृजना भएमा अधिकांश युवा स्वदेशमा बस्नेछन् । अब बन्ने सरकारले यी विषयलाई प्राथमिकतामा राखोस् भन्ने आशा छ ।”
मैतीदेवी घट्टेकुलो निवासी श्रेष्ठले यसअघिको निर्वाचनमा पनि मतदान गरिसकेकी छिन् । तर यस पटकको अनुभवमा आफू बढी उत्साहित र आशावादी रहेको बताइन । श्रेष्ठले यस पटक परिवारभित्रै पनि फरकफरक राजनीतिक धारणा देखिएको उल्लेख गरिन । “हामीले लामो समयसम्म परिवारभित्रै दल र उम्मेदवारका एजेण्डाबारे छलफल ग¥यौं । मैले मतदानमा स्वविवेक प्रयोग गरेको छु”, उनले भनिन।
पहिलो पटक निर्वाचनमा सहभागी भई मतदान गर्नुभएका १९ वर्षीया सार्थक सङ्ग्रौलाले आफू मतदान गर्न पाउँदा उत्साहित हुनुका साथै आफूलाई थप जिम्मेवार बनाएको धारणा राखे। काठमाडौं निर्वाचन क्षेत्र नं १ को मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा मतदान गरिसकेपछि अनुभव सुनाउँदै उनले भने, “पहिलोपटक भोट हाल्दा केही अफ्ठयारो लागेको थियो, कसलाई भोट हाल्ने भन्ने अन्योल पनि थियो”, उनले भने, “मेरो मतको कदर हुन्छ, देशका लागि राम्रो हुन्छ भन्ने अपेक्षा छ ।” उनले बाबुआमासँग छलफल गरे पनि अन्तिम निर्णय भने आफ्नै विवेकबाट गरेको बताए ।
यस्तै, २६ वर्षीय मन्जुल पराजुली पनि पहिलोपटक मतदान गर्दा निकै उत्साहित देखिइन। “अनुहारमा देखिन्छ होला, म एकदम उत्साहित छु”, उनले हाँस्दै भनिन। उनको अपेक्षा छ, अब देशमा राजनीतिक स्थिरता कायम हुन्छ । “पछिल्ला राजनीतिक घटनाक्रमका घाउ अझै ताजा छन् । अब निर्वाचित नेतृत्वले पाठ सिकेर देशलाई स्थिरता दिनुपर्छ”, उनले भनिन ।
पराजुलीले युवापुस्ताका जायज माग पूरा हुनुपर्नेमा जोड दिइन । सोही मतदानकेन्द्रमा मतदान गर्नुभएका २४ वर्षीया आकृति सापकोटाले पनि यस पटकको निर्वाचनप्रति आशावादी रहेको बताइन । “यस पटकका उम्मेदवार सक्षम देखिन्छन् । के सही र के गलत भन्ने अनुभव पनि सबैले गरिसकेका छन्”, उनले भनिन, “पहिले जे भयो त्यही फेरि नदोहोरियोस्, हाम्रो भविष्य राम्रो बनोस् भन्ने चाहना छ ।” उनको यो दोस्रो मतदानको अनुभव हो । पहिलोपटक मतदान गर्दा परिवारको सल्लाहमा निर्णय गरेको भए पनि यस पटक भने दलका एजेण्डा अध्ययन गरेर आफूले निर्णय गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ३ : ३२ बजे

मतदानको समय सकियो, आयोगले पत्रकार सम्मेलनमार्फत समग्र अवस्थाबारे जानकारी गराउने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभर मतदानका लागि तोकिएको समय

प्रधानमन्त्रीद्वारा कतारी समकक्षीसँग टेलिफोन संवाद, नेपालीको सुरक्षाबारे छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले कतारका समकक्षी शेख मोहम्मद बिन

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

बागलुङ । यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन्

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा हालसम्म करिब ४८