नवलपुर । करिब तीन दशकभन्दा लामो समयसम्म नेपाली कांग्रेसको प्रभाव क्षेत्रका रूपमा चिनिँदै आएको नवलपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक ऐतिहासिक राजनीतिक परिवर्तन भएको छ।
२०४८ सालदेखि लगातार नेपाली कांग्रेसले जित्दै आएको यस क्षेत्रको गढ ३४ वर्षपछि भत्किएको छ। यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजन गौतमले ५० हजार ९ सय ४५ मत ल्याएर विजयी भएपछि कांग्रेसको लामो राजनीतिक विरासतमा पूर्णविराम लागेको हो ।
काङ्ग्रेसका उम्मेदवार बालकृष्ण घिमिरेले १६ हजार २ सय ९३ मत ल्याएर उपविजेता बनेका छन भने एमालेका भागिरथ सापकोटाले ९ हजार १ सय ३१ मत प्राप्त गरेका छन
यस निर्वाचन परिणामले नवलपुरको राजनीतिक समीकरणमा ठूलो परिवर्तन ल्याएको विश्लेषकहरूको भनाइ छ। लामो समयदेखि कांग्रेसको सुरक्षित मानिँदै आएको क्षेत्रमै मतदाताले परिवर्तन रोजेपछि परम्परागत राजनीतिक दलप्रति जनताको असन्तुष्टि प्रस्ट रूपमा देखिएको छ।
नवलपुर–१ मा २०४८ सालको संसदीय निर्वाचनदेखि नेपाली कांग्रेसले निरन्तर जित हासिल गर्दै आएको थियो। त्यस अवधिमा कांग्रेसका विभिन्न प्रभावशाली नेताहरू यहाँबाट निर्वाचित हुँदै आएका थिए। २०४८ सालमा कांग्रेसका नेता सूर्यभक्त अधिकारी निर्वाचित भएका थिए। त्यसपछि यस क्षेत्रबाट दामोदर बस्ताकोटी र महेन्द्रध्वज जिसी जस्ता कांग्रेसका नेताहरूले पनि प्रतिनिधित्व गरेका थिए। त्यसपछि नेपाली कांग्रेसका प्रभावशाली नेता शशांक कोइराला लगातार चार पटकसम्म यस क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित हुँदै आएका थिए। यसले नवलपुर–१ कांग्रेसको सुरक्षित राजनीतिक आधार क्षेत्रका रूपमा स्थापित भएको थियो।
तर यसपटकको निर्वाचनमा भने मतदाताले फरक निर्णय गरेका छन्। परम्परागत दलभन्दा नयाँ राजनीतिक शक्तिलाई अवसर दिनुपर्छ भन्ने मनोविज्ञान मतदातामा देखिएको छ। विशेष गरी युवापुस्ताको समर्थन, सुशासन र परिवर्तनको नारालाई जोडदार रूपमा उठाएको कारण राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार राजन गौतमले उल्लेख्य मतसहित विजय हासिल गरेका हुन्।
तीन दशकभन्दा बढी समयसम्म आफ्नो प्रभाव कायम राखेको क्षेत्रमा पराजय भोग्नु कांग्रेसका लागि ठूलो राजनीतिक झट्का मानिएको छ। पार्टीभित्र लामो समयदेखि देखिएको गुटबन्दी, कार्यकर्ताबीचको असन्तुष्टि र मतदातामा बढ्दो निराशाले पनि यस परिणाममा प्रभाव पारेको स्थानीय नेताहरू बताउँछन ।
निर्वाचनमा विजय हासिल गरेपछि रास्वपाका उम्मेदवार राज गौतमले मतदाताले अब विकास, सुशासन र उत्तरदायित्वलाई प्राथमिकता दिएको बताएका छन्। उनले नवलपुरका नागरिकले परिवर्तन र परिणाममुखी नेतृत्वको अपेक्षा राखेर आफूलाई विजयी गराएको भन्दै त्यस विश्वासलाई कार्यान्वयनमार्फत प्रमाणित गर्ने प्रतिबद्धता व्यक्त गरे। विजयपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै गौतमले भने, “नवलपुरका मतदाताले अब भाषण होइन, काम चाहन्छन् भन्ने स्पष्ट सन्देश दिएका छन्। विकास, सुशासन र जनउत्तरदायित्वलाई केन्द्रमा राखेर काम गर्ने जिम्मेवारी अब मेरो काँधमा आएको छ।” उनले भने
उनले चुनावी अभियानका क्रममा जनतासँग गरेका प्रतिबद्धता क्रमशः पूरा गर्दै जाने बताए। नवलपुरको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, रोजगारी सिर्जना र कृषिको आधुनिकीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताए।
गौतमले विगतमा विकासका धेरै योजना घोषणामै सीमित भएको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए। “नवलपुरमा सम्भावना धेरै छन्, तर त्यसलाई योजनाबद्ध रूपमा अघि बढाउन सकेको अवस्था छैन। अब जनताको प्रत्यक्ष निगरानीमा पारदर्शी र प्रभावकारी ढंगले विकासका कार्यक्रम अघि बढाइनेछ,” उनले भने।
उनका अनुसार नवलपुरमा सुशासन कायम गर्न प्रशासनिक पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहलाई सहज बनाउने विषयमा विशेष ध्यान दिइनेछ। साथै स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय गर्दै जिल्लाको दीर्घकालीन विकासका योजनाहरू कार्यान्वयनमा ल्याइने उनले बताए।
गौतमले आफूलाई मतदान गर्ने तथा नगर्ने सबै मतदाताको प्रतिनिधिका रूपमा काम गर्ने प्रतिबद्धता पनि जनाए। “यो विजय कुनै एक दल वा समूहको मात्र होइन, समग्र नवलपुरवासीको विश्वासको परिणाम हो। त्यसैले म सबैलाई साथमा लिएर जिल्लाको विकासका लागि निरन्तर लागिपर्नेछु,” उनले भने।
उनले आगामी दिनमा जनतासँग नियमित संवाद गर्दै जनअपेक्षाअनुसार काम गर्ने र निर्वाचनका बेला गरेका बाचा पूरा गर्न दृढतापूर्वक लाग्ने समेत बताए।बिजय पछि रास्वपा उमेदवार राज गौतमले मतदाताले अब विकास, सुशासन र उत्तरदायित्वलाई प्राथमिकता दिने बताए ।

















प्रतिक्रिया