२ चैत्र २०८२, सोमबार | March 16, 2026

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता



नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा औषधि पसलको अनुगमन गर्दा १४ वटा औषधि पसल कानुन विपरित रहेको फेला पारेको छ । चालू आर्थिक वर्ष २०८२/०८३ को फागुन महिनासम्म भएको ४४१ वटा औषधि पसलको अनुगमन तथा निरीक्षणका क्रममा व्यवसायी उपस्थित नभएको, बिना दर्ता औषधि पसल सञ्चालन गरेको, म्याद नाघेका औषधि फेला परेको १४ औषधि पसल कारवाहीको दायरामा ल्याइएको औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले जनाएको छ ।

अनुगमनका क्रममा व्यवसायी उपस्थित नभएको, बिना दर्ता औषधि पसल सञ्चालन गरेको, म्याद नाघेका औषधि फेला परेको लगायतका कैफियत देखिएपछि १४ वटा औषधि पसललाई निलम्बन गर्दै कारबाही गरिएको कार्यालयले जनाएको छ । निलम्बनमा परेका पसलहरु विरुद्ध मुद्दा समेत चलाइएको शाखा कार्यालयका फार्मेसी सुपरभाइजर निरीक्षक दिनेशराज न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार बिना इजाजत औषधि पसल सञ्चालन गर्ने, दर्ता नभएका औषधि बिना अनुमति पैठारी गर्ने, अवैध रूपमा औषधि आयात गर्ने तथा औषधिको अनुचित प्रयोग वा दुरुपयोग गर्ने जस्ता कसुरमा मुद्दा दर्ता भएका हुन् ।

विभागलाई आवश्यक परेमा अधिकतम ६ महिनासम्म पसल शील गर्ने अधिकार रहेको छ । निलम्बनमा पर्ने पसलहरू कैलाली, कञ्चनपुर, बाँके, सुर्खेत लगायतका जिल्लाका रहेको न्यौपानेले बताए । उनले ४०० औषधि पसल अनुगमन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा बढी अर्थात करिब ११० प्रतिशत अनुगमन सम्पन्न गरिएको दाबी गरे ।

यस्तै विभागले कार्यालयमा आउने उजुरीहरूको फछ्र्यौटमा पनि सक्रियता देखाएको छ । स्थानीय प्रशासनबाट प्राप्त चार वटै उजुरीको फछ्र्यौट गरिसकिएको छ भने नागरिकबाट आएका ६ वटा उजुरीमध्ये चार वटा उजुरीको टुंगो लगाइसकिएको फार्मेसी सुपरभाइजर न्यौपानेले जानकारी दिए । । यस अवधिमा शाखा कार्यालय नेपालगन्जले बजार अनुगमनका क्रममा संकलन गरिएका ४५ प्रकारका औषधि गुणस्तर परीक्षणका लागि काठमाडौं पठाएको छ ।

बजार अनुगमनका क्रममा पछिल्लो समय व्यवसायी स्वयं पसलमा उपस्थित नहुने, फार्मेसीबाट न्यूट्रा प्रोडक्ट (खाद्यपूरक) को बिक्री–वितरण बढ्दो जस्ता समस्या देखिएको न्यौपानेले बताए । व्यवसायीलाई पटक–पटक सचेत गरिए पनि अटेरी गर्ने प्रवृत्ति देखिएमा विभागले कारबाहीको दायरामा ल्याउने गरिएको उनले उल्लेख गरे ।

स्रोत–साधनको तुलनामा कार्य क्षेत्र अत्यन्तै ठूलो रहेको शाखा कार्यालयले जनाएको छ । नेपालगन्ज शाखाले लुम्बिनी प्रदेशका ६ जिल्ला(बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, प्यूठान र रोल्पा) सहित कर्णाली र सुदूरपश्चिम प्रदेशका सबैगरि २५ जिल्लामा रहेका औषधि पसलको अनुगमन तथा निरीक्षणको जिम्मेवारी सम्हाल्दै आएको छ ।

हाल विभागको शाखा कार्यालय नेपालगन्जमा प्राविधिक जनशक्ति चार जनाको मात्र दरबन्दी रहेको छ । जनशक्ति र स्रोत–साधनको अभाव हुँदाहुँदै पनि औषधि व्यवस्था विभाग नेपालगन्ज शाखाले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै आएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ९ : ०५ बजे

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि