बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न थालेपछि अनुगमनलाई तिव्रता दिईएको छ । ईलाका प्रशासन कार्यालय बुटवल , बुटवल उपमहानगरपालिका , ग्यास विक्रेता संघ , उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितिमा बुटवल , तिलोत्तमा , सैनामैनामा रहेका ग्यास डिलरमा अनुगमन गरिएको हो ।
कतिपय डिलरमा ग्यासका भरी सिलिण्डर लुकाएर राखिएको फेला परेको छ भने केही विक्रेताले तोकिएको मूल्य भन्दा बढी मूल्यमा विक्रि गर्ने गरेको अनुगमनमा सहभागी अधिकारीहरुले बताएका छन् । चैत्र २ र ६ गते बुटवल, तिलोत्तमा , सैनामैनामा रहेका ग्यास डिलरमा अनुगमन गरिएको ईलाका प्रशासन कार्यालय बुटवलका नायब सुब्बा रामप्रसाद शर्माले जानकारी दिए ।
पहिलो दिन गरिएको अनुगमनमा ग्यास लुकाएर राखेर कृत्रिम अभाव सृजना गरेको, उपभोक्ताले नपाएको तथा मुल्य बृद्धि गरेको भेटिएको उनले बताए । शर्माका अनुसार बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको १५ वटा ग्यास डिलरमा गरिएको अनुगमनका क्रममा ५०० बढी ग्यासको सिलिन्डर फेला परेको थियो ।
हेमानी ग्यास (जितगढी), दिव्य दिवस इन्टरपाइजेज (झोलुङ्गेपुल), न्यू सफल सप्लार्यस (तामनगर), कृतिका दर्शन (ढवाह), न्यौपाने नव स्टोर (तामनगर), पृथ्वी जनपृय स्टोर (सैनामैना), बोलबम टे«डस (सैनामैना), ओम शान्ति सप्लार्यस (सैनामैना), लाङघाली विज्रल एण्ड क्रिसन (सैनामैना) लगायतका १५ वटा ग्यास स्टोरमा अनुगमन गरिएको इलाका प्रशासन कार्यालयका नासु शर्माले बताए ।

अनुगमनका क्रममा ती ग्यास डिलरबाट लुकाएर राखेका ५०० भन्दा बढी ग्यासका सिलिन्डर फेला परेको शर्माले बताए । सैनामैना ५ स्थित लाङघाली ग्यास डिलरले धेरै मूल्यमा ग्यास विक्रि गरेको भेटिएको पनि शर्माले बताए । उक्त ग्यास डिलरलाई जिल्ला प्रशासनलाई कारवाहीको लागि सिफारिस गरिने समेत उनले बताए ।
यस्तै ग्यास बिक्रेता संघ रुपन्देहीका अध्यक्ष प्रदिप प्रसाद पन्थले रुपन्देहीमा आवश्यकता अनुसार नै ग्यासको आयात भएको बताए । उनले ग्यासको कालोबजारी गर्ने र कृक्रिम अभाव गर्ने व्यवसायीहरुको संरक्षण आफुले नगर्ने बताउँदै कानुन बमोजिम कारवाही गर्न समेत उनले आग्रह गरे ।
अघिल्लो दिनको तुलनामा दोश्रो पटकको अनुगमनमा धेरै सुधार आएको अनुगमनमा खटिएका प्रतिनिधिहरुले बताएका छन् । अध्यक्ष पन्थका अनुसार योगिकुटी , मणिग्राम, नयाँमिलका उपभोक्ताले सहज रुपमा ग्यास नपाएको गुनासो आएपछि अनुगमनलाई तिव्रता दिएको बताए । डिलरमा उपलब्ध भएको ग्यास उपभोक्ताको नम्बर टिपोट गरेर सहज रुपमा वितरण गर्नको लागि उनले विक्रेताहरुलाई आग्रह गरे ।


















प्रतिक्रिया