काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको छ । असन्तुष्ट पक्षले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको वर्तमान कार्यसमिति भंग गर्न माग गरेको छ ।
महामन्त्री धवलशमशेर राणा पक्षधरको आइतबार कान्तिपथमा बसेको बैठकले वर्तमान समिति भंग गरी निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने निर्णय गरेको हो । साथै, एक साताभित्र केन्द्रीय महाधिवेशनको मिति घोषणा गर्न पनि माग गरिएको छ ।
बैठकले पछिल्लो निर्वाचन परिणामको समीक्षा गर्दै पार्टी ‘सच्चिने कि सकिने’ गम्भीर अवस्थामा पुगेको निष्कर्ष निकालेको छ । असन्तुष्ट पक्षले ताजा जनादेशका लागि महाधिवेशन अपरिहार्य भएको उल्लेख गरेको छ ।
उनीहरूले अध्यक्ष लिङ्देनले निर्वाचनअघि गरेको प्रक्षेपण स्मरण गराउँदै प्राप्त परिणाम अपेक्षाविपरीत नकारात्मक भएको टिप्पणी गरेका छन् । साथै, निर्वाचनमा भएको पराजयको समुचित समीक्षा नगरेको र नेतृत्वले नैतिक जिम्मेवारी नलिएको भन्दै असन्तुष्टि जनाइएको छ ।
निर्णयमा पार्टीभित्र बढ्दो असन्तुष्टि, कार्यकर्ताहरूको निराशा तथा सदस्यता परित्यागको क्रम जारी रहेको उल्लेख गर्दै वर्तमान अवस्थाले पार्टीको भविष्यप्रति गम्भीर प्रश्न उठाएको बताइएको छ ।



















प्रतिक्रिया