७ बैशाख २०८३, सोमबार | April 20, 2026

आरोप अस्वीकार गर्दै गृहमन्त्री गुरुङले भने – ‘छानबिनमा पार्टीलाई सघाउँछु ‘



काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका सेयर लगानी, स्रोत नखुलेको तथा विवादित व्यक्तिसँग जोडिएको आरोपबारे स्पष्टीकरण दिएका छन्। पछिल्ला दिनमा आफ्नो नाम जोडेर विभिन्न चर्चा भइरहेका सन्दर्भमा उनले तथ्य र हल्लाबीच फरक छुट्याउन आग्रह गरेका छन्।

गुरुङले “२५ लाखको सेयर लुकाइएको” भन्ने आरोपलाई अस्वीकार गर्दै सबै सेयर एउटै प्रकृतिका नहुने बताएका छन्। उनले धितोपत्र बजारमा कारोबार हुने सेयरतर्फ मात्रै २ करोडभन्दा बढी लगानी सम्पत्ति विवरणमा स्पष्ट रूपमा उल्लेख गरिएको दाबी गरे। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही समूहभित्र पर्ने भएकाले यो लुकाउने नभई वर्गीकरणको विषय भएको उनको भनाइ छ।

“लुकाउने व्यक्ति हुँ भने २ करोडभन्दा बढी सम्पत्ति खुला रूपमा देखाउँदिनथेँ,” उनले स्पष्ट पारेका छन्।

सेयर किनबेचलाई लिएर उठेको अर्को आरोपबारे उनले मन्त्री हुनुअघि गरिएको लगानीलाई अपराधका रूपमा चित्रण गर्नु उचित नभएको बताए। उनका अनुसार सम्पूर्ण कारोबार बैंकिङ च्यानलमार्फत भएको छ र पैसाको स्रोत, समय र गन्तव्य सबै रेकर्डमा देखिने अवस्था छ।

गुरुङले लगानीको स्रोतबारे पनि स्पष्ट गर्दै उक्त रकम ऋणमार्फत जुटाइएको र २०८० भदौ २९ गतेको लिखित तमसुकका आधारमा बैंकिङ च्यानलबाट आएको जानकारी दिएका छन्। “पैसा कहाँबाट आयो भन्ने कुरा अनुमानको होइन, कागज र बैंक रेकर्डले प्रमाणित गर्ने विषय हो,” उनले भने।

विवादित व्यक्तिसँग साझेदारीको आरोपप्रति प्रतिक्रिया दिँदै उनले एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नुजस्तो नभएको तर्क गरे। यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई दोषी ठहर गर्नुपर्ने अवस्था आउने उनको भनाइ छ।

‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’ सम्बन्धी आरोपबारे उनले छानबिन गर्ने निकाय गृह मन्त्रालय नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण विभाग भएको उल्लेख गरे। सोही निकायले प्रक्रिया अनुसार विषय हेरिरहेको भन्दै आफूबाट कुनै हस्तक्षेप नभएको दाबी उनले गरेका छन्।

गुरुङले व्यापारिक लगानीमा जोखिम स्वाभाविक हुने भन्दै पछिका घटनालाई अघि गरिएको निर्णयसँग जोडेर दोषारोपण गर्नु तथ्यमा आधारित नभएको बताएका छन्। कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया नदिनु उपयुक्त हुने पनि उनले स्पष्ट पारे।

पार्टीको नारा र व्यवहारबीच अन्तर रहेको भन्ने टिप्पणीप्रति उनले व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोका रूपमा व्याख्या गर्नु गलत भएको बताए। “लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा हुन्,” उनले भने।

आरोप र सत्य फरक हुने उल्लेख गर्दै उनले प्रमाणका आधारमा निर्णय हुनुपर्ने धारणा राखेका छन्। साथै, यस विषयमा पार्टीले गर्ने निर्णयको पूर्ण पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न आफू तयार रहेको बताएका छन्।

प्रकाशित मिति : ७ बैशाख २०८३, सोमबार  २ : ११ बजे

भूमिसुधार तथा मालपोतमा टोकन प्रणाली

भद्रपुर । भद्रपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयले सेवा प्रवाहलाई व्यवस्थित,

पासपोर्टमा ‘काम गर्न निषेध’ लेख्ने दुई अध्यागमन अधिकृत हटाइए, छानबिन सुरु

काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका दुई

आरोप अस्वीकार गर्दै गृहमन्त्री गुरुङले भने – ‘छानबिनमा पार्टीलाई सघाउँछु ‘

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि लागेका सेयर लगानी, स्रोत

गृहमन्त्री गुरुङमाथि तत्काल उच्चस्तरीय छानबिन गर्न कांगेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले गृहमन्त्री सुधन गुरुङमाथि

बुटवलमा जितगढी विजयोत्सवको भव्य स्मरण (फोटो फिचर)

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा जितगढी विजय