८ बैशाख २०८३, मंगलबार | April 21, 2026

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि… …



अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोराहरू दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र पुगेका थिए ।

आफ्नै काठे डुङ्गा लिएर घाँस काट्न गएका उनीहरूमध्ये जेठो छोरा १४ वर्षीय दिलीपले आफूभन्दा पहिले पालैपालो बुबा र भाइलाई पारि पठाएका थिए । अन्तिममा आफू तरे । नदी तरिसकेपछि पहलसिंहले कर्णाली नदीमा जाल थापे । त्यसपछि तीनै जनाले घाँस काटे । तीन भारी घाँस काटिसकेपछि साँझपख जेठो छोरा दिलीपले डुङ्गामा पालैपालो तीनै भारी घाँस तारे ।

घाँस तारेर बुबा र भाइ लिन दिलीप डुङ्गा लिएर पुनः कर्णाली पारि पुगे । साँझ झमक्क परिसकेको थियो । दिलीपले बुबालाई पालैपालो डुङ्गामा पारी पुर्याउने प्रस्ताव गरे । तर पहलसिंहले दिलीपलाई भने, “छोरा घाँस तार्दातार्दा तिमीलाई थकाइ पनि लागेको छ । रात परिसक्यो सबै जनासँगै जाऔँ”, दिलीपले ‘हुन्न त्यसरी नजाउँ’ पनि भने, तर बुबाले मानेन् ।

नभन्दै नदीको बीच भागमा पुगेपछि डुङ्गा पल्टियो । डुङ्गा पल्टिनेबित्तिकै दिलीप पौडी खेल्दै जसोतसो नदी किनारमा निस्किए । रुँदै, गुहार्दै वरपरका मान्छेलाई खबर गरे । डुङ्गा पल्टिएर उल्टो भएपछि ११ वर्षका भाइ नरेश डु¬ङ्गामै च्यापिएका थिए । पहलसिंहले कान्छो नरेशलाई बचाउन च्यापिएका ठाउँबाट निकालेर पिठ्युँमा बोके । अनि नदी पार गर्न पौडिन थाले । नदी पार गर्ने बेलामा पानीको बहावसँगै दुवैजना बेपत्ता भए । त्यस रातभरि परिवार र स्थानीय खोजीमा जुटे । कतै फेला परेनन् ।

सशस्त्र प्रहरी बल खप्तड गुल्मको विपद् उद्धार टोली, सुर्खेतबाट आएको गोताखोरको टोली, स्थानीय बासिन्दा र नेपाल प्रहरीको संयुक्त प्रयासमा निरन्तर खोजी गर्दा कर्णाली नदीको खोँचमा वैशाख ५ गते छोरा नरेश र ६ गते बुबा पहलसिंहको शव फेला पर्यो ।

बाबुछोराकै निधनपछि अहिले पहलसिंहको परिवारमात्रै होइन, पूरै गाउँ शोकमा छ । पहलसिंहको परिवारको मुख्य पेसा कृषि थियो । कर्णाली नदी किनारमा बसोबास गर्ने भएकाले उनीहरूको दैनिक जीवनयापन नदीमा माछा मार्ने र पशुपालन थियो । जेठो दिलीप बसुन्धरा मावि थालपाटामा कक्षा ८ मा अध्यनरत थिए ।

कान्छो नरेश भने कक्षा ४ मा अध्यनरत थिए । श्रीमान् र नाबालक छोराको निधनपछि पहलसिंहकी ३३ वर्षीया श्रीमती शान्तिकुमारी माझी (बुढा) अझै राम्रोसँग होसमा आएकी छैनन् । श्रीमान्को भरमा चलेको परिवारमा श्रीमान् नै नभएपछि कसरी जीविका चलाउने भन्ने चिन्ता थपिएको छ ।

पुल नहुँदा वारपार गर्न जोखिम

यस स्थानमा हालसम्म एउटा झोलुङ्गे पुलसम्म छैन । जसका कारण घरायसी कामकाजकै लागि वारपार गर्न ज्यान जोखिममा हिँड्नुपर्ने बाध्यता छ । कर्णाली नदीले घेरिएको यो ठाउँमा झोलुङ्गे पुल निर्माण गरिदिन पटकपटक आवाज उठाउँदा पनि कुनै सुनुवाइ नभएको स्थानीय दुर्गबहादुर बिसीले गुनासो गरे । अछामतर्फ बढी सुक्खा क्षेत्र भएकाले घाँस ल्याउन सुर्खेततर्फ जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ । “घाँसको भारी कर्णाली पार गर्दै ल्याउनुपर्छ, कतिखेर के हुन्छ थाहै हुँदैन”, उनले भने ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ३ : २७ बजे

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौं । देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि… …

अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय