काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर प्रयोग सुरु गरिएको छ । बिहान ठीक ८ः२० बजेबाट बस्ती क्षेत्रमा डोजर परिचालन गरिएको हो ।
पहिलो चरणमा दुई वटा डोजर प्रयोगमा ल्याइएको छ। सरकारले बिहीबार नै बस्ती खाली गर्न सूचना जारी गरेपछि त्यहाँ बसोबास गर्दै आएका सुकुम्बासीहरूले शनिबार बिहानसम्म पनि आफ्ना सामान सुरक्षित स्थानतर्फ सार्ने काम गरिरहेका छन् । बस्ती क्षेत्रमा खटिएका नेपाल प्रहरी र नगर प्रहरीका जवानहरूले सुकुम्बासीहरूको सरसामान आफैं बोकेर सुरक्षित स्थानमा पुर्याउन सहयोग गरिरहेका छन् ।
शनिबार बिहानैदेखि सम्भावित तनावलाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । डोजर चलाउनुअघि प्रहरीले माइकिङमार्फत् बस्तीवासीलाई आफ्ना सामग्री सुरक्षित स्थानमा सार्न थप आधा घण्टा समय दिएको थियो ।
यसअघि यही क्षेत्रमा डोजर चलाउने प्रयास हुँदा स्थानीय बासिन्दा र सुरक्षाकर्मीबीच ढुंगामुढा तथा हिंसात्मक झडप भएको थियो । तर यसपटक प्रशासनले सम्भावित विवाद टार्न सहयोगात्मक ढंगले बस्ती खाली गराउने रणनीति अपनाएको देखिएको छ ।




















प्रतिक्रिया