नेपालगन्ज । पश्चिम नेपाल कै एक मात्र क्यान्सर अस्पताल सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको लिन्याक मेसिनमा समस्या आएपछि अस्पतालको रेडियोथेरापी सेवा अवरुद्ध भएको छ । बिगत ५ दिनदेखि क्यान्सर रोगको सेकाउने (रेडियोथेरापी) लिन्याक मेसिनमा समस्या आएपछि टाढा टाढाबाट सेवा लिन आएका क्यान्सरका बिरामीहरु अलपत्र परेका छन् ।
मेसिन मरमत गर्ने प्राबिधिक अस्पतालसँग नभएको र मेसिन सप्लाई गर्ने सप्लायर्सले पनि भुक्तानी नपाएको भन्दै मरमत गर्न अस्वीकार गरेपछि मसिन कहिले बन्ने ? भन्ने अन्यौलता उत्पन्न भएको अस्पताल प्रशासन स्रोतले जनाएको छ । लिन्याक मेसिन खरीद गर्दा सप्लाई गर्ने कम्पनीबाट खरिद सम्झौता भन्दा विपरितको एचएस कोड र कन्ट्री अफ ओरिजिनको मेसिन अस्पतालमा झरेपछि सप्लायर्सको भुक्तानी नगरिएको अस्पताल प्रशासनले बताउँदै आएको छ । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको समेत स्रोतको दाबी छ ।
अस्पताल प्रशासनले फरक परेको कोड र कन्ट्री अफ ओरिजिनका बारेमा सहजिकरण गरिदिन पटक पटक स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएपनि मन्त्रालयले सहजिकरण नगरिदिएपछि लिन्याक मेसिन खरिदको विवाद कायम रहेको छ । मेसिन संचालन भएपनि भुक्तानी हुन नसक्दा मेसिनमा आउने प्राबिधिक खराबीकोे समस्या समाधान गर्न चुनौती देखिँदै आएको थियो ।
लिन्याक मेसिनमा समस्या देखिएपछि मरमतका लागि प्राबिधिक पठाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरिएको अस्पतालका सूचना अधिकारी डा. प्रविण गुप्ताले बताए । ‘मन्त्रालयबाट प्राबिधिक माग गरिएको छ,’ उनले भने, ‘छिटो भन्दा छोटो मेसिन सञ्चालनको प्रयासमा अस्पताल प्रशासन लागेको छ ।’ उनका अनुसार अस्पतालका रेडियोलोजी बिभागका प्राबिधिकहरु दक्ष जनशक्ति माग गर्न स्वास्थ्य मन्त्रालय गएका छन् ।
२०७९ पुसमा अस्पतालमा झरेको मसिन विवादकै कारण जडान भएको ३ महिना पछिमात्र मात्र संचालनमा आएको थियो । अस्पतालका पूर्व निर्देशक डा. प्रकाश प्रसाद साहले भुक्तानीको आश्वासन दिँदै सप्लायर्सबाट प्राबिधिक झिकाएर लिन्याक संचालन गराएका थिए । तर सप्लायसैले भुक्तानीको दवाव बढाएपछि भुक्तानी गर्दा अख्तियार लाग्ने डरले उनी सरुवा मिलाएर हिँडेको स्रोतहरुको दाबी छ ।
अस्पतालका पूर्व निर्देशक डा. निरज भट्टराईको कार्यकालमा मन्त्रालयलाई सहजिकरणका लागि भएको आग्रह बमोजिम मन्त्रालयबाट छानबिन समिति समेत गठन भएको थियो । छानबिन समितिले खरिद सम्झौता र भन्सार भएको कागजमा एचएस कोड र कन्ट्री अफ ओरिजिन फरक परेको स्वीकार गर्दै मसिनको गुणस्तरका विषयमा संचालनमा आएपछि भन्न सकिने प्रतिवेदन मन्त्रालयलाई बुझाएको थियो । सोही प्रतिवेदनका आधारमा मसिन जडान भइ संचालनमा आएपनि फरक परेको कोड र कन्ट्री अफ ओरिजिनका बारेमा मन्त्रालयबाट ठोस निर्णय नहुँदा मेसिनको बाँकी रकम भुक्तानी रोकिएको हो ।
२७ करोड बढी मूल्यमा खरिद सम्झौता भएको मेसिनको ६० प्रतिशत रकम सप्लायर्शले लगिसकेको छ भने ८ लाख ६ हजार डलर अझै भुक्तानी दिनुपर्ने देखिएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।
मेडि सोलुसनले सप्लाई गरेको नयाँ मेसिन खरिद लन्डनबाट सप्लाई दिने सम्झौता भएको तर भन्सार प्रज्ञापन पत्र र खरिद सम्झौतामा मेसिनको कन्ट्री अफ ओरिजिन र एचएस कोड फरक पाएपछि मेसिनको भुक्तानी हुन नसकेको हो । स्वास्थ्य मन्त्रालयले एक टिमले मेसिन जडान गर्ने र त्यसको प्रतिफल कस्तो दिन्छ त्यस आधारमा रकम भुक्तानी दिने निर्देशन दिएपनि मसिन चलिसकेपछि पनि भुक्तानी प्रक्रिया अगाडी नबढेको सप्लायर्सको भनाई छ ।
सप्लायर्सले भुक्तानी नपाउँदा संचालनमा रहेको मसिनमा प्राबिधिक खराबी आए वारेन्टी समयावधिको सुबिधा कम्पनीले नदिने समस्या रहेको अस्पतालका एक चिकित्सकले बताए । वारेन्टी बमोजिम सुविधा नपाउँदा मसिन बिग्रेपछि मरमतमा समस्या देखिएको छ । हरेक दिन २५ बढी क्यान्सरका बिरामीले खजुरा क्यान्सर अस्पतालबाट रेडियो थेरापीको सेवा अस्पतालबाट लिँदै आएका थिए ।




















प्रतिक्रिया