३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

आजदेखि सुरु भयो अधिकमास अर्थात् मलमास : असार १ गतेसम्म माङ्गलिक कार्य रोक, मच्छेनारायण मेला पनि सुरु



काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन १ घण्टा ३६ मिनेटमा पर्ने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो अधिकमास आगामी असार १ गतेसम्म रहनेछ ।

ज्योतिषीय गणनाअनुसार सौर र चान्द्र पात्रोबीच समन्वय मिलाउन निश्चित अवधिमा अधिकमास पर्ने गर्दछ । एउटा औँसीदेखि अर्को औँसीसम्म कुनै सङ्क्रान्ति नपरेको महिनालाई मलमास वा अधिकमास भनिने ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेल ले बताए ।

भास्कराचार्यको ‘सिद्धान्त शिरोमणि’ ग्रन्थमा पनि सङ्क्रान्ति नभएको महिनालाई अधिकमास र दुई वटा सङ्क्रान्ति परेको महिनालाई क्षयमास भनिएको उल्लेख छ । क्षयमास भने विरलै पर्ने गर्छ । यसअघि २०२० सालमा क्षयमास परेको बताइएको छ ।

धर्मशास्त्रविद्हरूका अनुसार मलमासमा नित्य पूजा, पाठ, जप, ध्यान तथा पहिलेदेखि गर्दै आएको व्रतलाई निरन्तरता दिन सकिन्छ । तर विवाह, व्रतबन्ध, गृहप्रवेश, गृहनिर्माण तथा नयाँ शुभकार्य सुरु गर्न भने निषेध गरिएको छ ।

धर्मशास्त्रविद् एवं समितिका सदस्य देवमणि भट्टराई का अनुसार मलमासमा नयाँ व्रत आरम्भ गर्न नहुने भए पनि नियमित रूपमा गर्दै आएको धार्मिक कर्मलाई निरन्तरता दिन सकिन्छ ।

धार्मिक मान्यताअनुसार मलमासलाई भगवान् विष्णुको नामबाट ‘पुरुषोत्तममास’ पनि भनिन्छ । धार्मिक ग्रन्थहरूमा यस महिनामा भगवान् नारायणको पूजा-आराधना गर्नाले पुण्य प्राप्त हुने उल्लेख गरिएको छ ।

यसैबीच, अधिकमास सुरु भएसँगै काठमाडौंको मच्छेनारायण मन्दिर मा विशेष मेला पनि सुरु भएको छ । मलमास अवधिभर यहाँ पुरुषोत्तममास माहात्म्य वाचन, पूजा तथा दर्शनका लागि लाखौँ भक्तजन आउने गर्दछन् ।

कीर्तिपुर नजिकै रहेको मच्छेनारायण मन्दिरमा भगवान् विष्णुको मत्स्य अवतारको मूर्ति रहेको छ । धार्मिक विश्वासअनुसार भगवान् विष्णुले मत्स्य अवतार धारण गरी प्रलयकालमा वेदको रक्षा गरेका थिए ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ६ : ४३ बजे

आज देशभर रास्वपाको वडा अधिवेशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन

हुम्लामा विद्युत् सेवा अवरुद्ध

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध

गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

काठमाडौं । गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको

तीन लाख नदिए मलेसिया नपठाउने धम्की, म्यानपावरका एजेन्ट पक्राउ

काठमाडौं । सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका

काठमाडौंको थानकोटमा घरायसी विवादले लियो ज्यान, चक्कु प्रहारबाट युवकको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा