३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

तीन लाख नदिए मलेसिया नपठाउने धम्की, म्यानपावरका एजेन्ट पक्राउ



काठमाडौं । सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवलाई वैदेशिक रोजगारीको नाममा ठगी गर्ने प्रयास गरेको आरोपमा एक म्यानपावर कम्पनीका एजेन्ट पक्राउ परेका छन् ।

सरकारको ‘फ्रि भिसा, फ्रि टिकट’ नीति अनुसार मलेसिया जान अधिकतम १० हजार रुपैयाँ मात्र शुल्क लाग्ने व्यवस्था भए पनि कोटेश्वरस्थित ग्रान्ड स्विट जब नामक म्यानपावर कम्पनीले यादवसँग ३ लाख रुपैयाँ मागेको थियो ।

पीडित यादवले यसअघि नै ७० हजार रुपैयाँ बुझाइसकेका थिए । तर कम्पनीले बाँकी २ लाख २० हजार रुपैयाँ नतिरेसम्म पासपोर्ट, श्रम स्वीकृति र टिकट नदिने भन्दै रोकेको थियो ।

म्यानपावर कम्पनीले जेठ ३ गते उडाइदिने आश्वासन दिएपछि यादव थप रकम जुटाएर काठमाडौं आएका थिए । कम्पनीका एक कर्मचारीले उनलाई तीनकुने गैरीगाउँस्थित पेट्रोलपम्प नजिक पैसा लिएर बोलाएका थिए ।

यसबीच यादवले आफूले भोगेको समस्याबारे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयमा जानकारी गराएका थिए । त्यसपछि मन्त्रीका स्वकीय उपसचिव सरोज यादव, सञ्चारकर्मी र प्रहरी टोली घटनास्थल पुगेका थिए ।

प्रहरीका अनुसार म्यानपावर कम्पनीका कर्मचारीले सुरुमा रकम मागेका थिए । पासपोर्ट र अन्य कागजात दिएपछि मात्र पैसा दिने भन्दै विवाद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिको साथबाट चारवटा पासपोर्ट, हवाई टिकट र अन्य महत्वपूर्ण कागजात बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई थप अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पठाइएको छ ।

प्रहरीले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको अवस्थामा किन ३ लाख रुपैयाँ मागिएको भन्दै सोधपुछ गर्दा एजेन्ट निरुत्तर बनेका थिए ।

प्रहरीको सक्रियतापछि यादवको राहदानी, श्रम स्वीकृति, बीमा र टिकट फिर्ता गरिएको छ । अब उनी आइतबार मलेसिया उड्ने तयारीमा रहेका छन् ।

पीडित यादवले आफूलाई अन्तर्वार्ता पास भएपछि धम्क्याएर रकम असुल्न खोजिएको बताउँदै दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।

श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाँदा कुनै समस्या परे मन्त्रालय वा सम्बन्धित निकायमा सिधै सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८३, आइतबार  ७ : १९ बजे

हुम्लामा विद्युत् सेवा अवरुद्ध

सिमकोट । हुम्ला सदरमुकाम सिमकोटसहित दुई गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध

गुठी संस्थानसँग छैन जिल्लागत जग्गाको अभिलेख विवरण

काठमाडौं । गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको

तीन लाख नदिए मलेसिया नपठाउने धम्की, म्यानपावरका एजेन्ट पक्राउ

काठमाडौं । सेक्युरिटी गार्डको कामका लागि मलेसिया जान लागेका सप्तरीका

काठमाडौंको थानकोटमा घरायसी विवादले लियो ज्यान, चक्कु प्रहारबाट युवकको मृत्यु

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोटमा घरायसी विवादका क्रममा

आज ३३ औँ मदन-आश्रित स्मृति दिवस

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार