६ श्रावण २०८३, बुधबार | July 22, 2026

तिनाउ गाउँपालिकामा आधारभूत मेलमिलापकर्ता तालिम सम्पन्न



पाल्पा । “हाम्रो समस्या, हाम्रै समाधान : मेलमिलाप” भन्ने मूल नारासहित पाल्पाको तिनाउ गाउँपालिकामा आयोजित ८ दिने (४८ घण्टा) आधारभूत मेलमिलापकर्ता तालिम सम्पन्न भएको छ ।

तिनाउ गाउँपालिका न्यायिक समितिको आयोजना तथा जुनकिरी नेपाल बागलुङको प्राविधिक सहयोगमा सञ्चालन गरिएको तालिम आइतबार गाउँपालिकाको सभाहल दोभानमा आयोजित विशेष समारोहबीच समापन गरिएको हो ।

गत जेठ २ गतेदेखि सुरु भएको तालिममा गाउँपालिकाका ६ वटै वडाबाट छनोट गरिएका १५ जना स्थानीय अगुवाको सहभागिता रहेको थियो । सहभागीमध्ये ८ जना महिला र ७ जना पुरुष रहेका थिए ।

तालिम समापनसँगै नवउत्पादित १५ जना मेलमिलापकर्तालाई तिनाउ गाउँपालिकाका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक लालबहादुर थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

शपथपछि मेलमिलापकर्ताहरूले आफ्नो कार्यक्षेत्रमा तटस्थ, निष्पक्ष र इमानदार भएर कार्य गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । गाउँपालिकाले उनीहरूलाई आधिकारिक परिचयपत्र, आचारसंहिता पुस्तिका तथा प्रमाणपत्रसमेत वितरण गरेको जनाएको छ ।

समापन समारोहमा प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले स्थानीय तहमा मेलमिलापकर्ताको भूमिका अत्यन्त संवेदनशील र महत्वपूर्ण हुने बताए ।

उनले समुदायस्तरका सानातिना विवादलाई अदालतसम्म पुर्‍याउनुभन्दा स्थानीयस्तरमै आपसी समझदारीमा समाधान गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उल्लेख गरे ।

“नयाँ मेलमिलापकर्ता साथीहरूले कानुन, प्रक्रिया र व्यावहारिक सीप सिकिसक्नुभएको छ । अब तिनाउका हरेक वडामा न्यायको दियो बल्नेछ,” अध्यक्ष श्रेष्ठले भने, “यसले न्यायिक समिति तथा अदालतको कार्यबोझ घटाएर समाजमा दिगो मेलमिलापको संस्कृति विकास गर्नेछ ।”

कार्यक्रमका अध्यक्ष तथा न्यायिक समिति संयोजक लालबहादुर थापाले तालिमले वडा स्तरमा सक्षम न्यायदूत उत्पादन गरेको बताए ।

“न्याय पाउन समय र पैसा दुवै खर्च गर्नुपर्ने बाध्यताको अन्त्य गर्न वडा स्तरका मेलमिलाप केन्द्रहरू कोसेढुंगा सावित हुनेछन्,” उनले भने, “मेलमिलापकर्ताले कसैको हार वा जित नभई दुवै पक्षको ‘विन-विन’ अवस्था सिर्जना गर्ने गरी सहजीकरण गर्नेछन् ।”

विशिष्ट अतिथि एवं प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले नवउत्पादित मेलमिलापकर्ताको प्रशासनिक तथा कानुनी सबलीकरणका लागि गाउँपालिका सधैं सहयोग गर्न तयार रहेको बताए ।

न्यायिक समिति सदस्य इन्द्राकुमारी चिदीले महिला मेलमिलापकर्ताको सहभागिताले लैंगिक न्याय र संवेदनशीलतामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिन् ।

मेलमिलाप परिषद्बाट स्वीकृत पाठ्यक्रममा आधारित तालिममा विवाद व्यवस्थापन, वैकल्पिक विवाद समाधान (एडीआर), कानुनी व्यवस्था, प्रभावकारी सञ्चार, सक्रिय सुनाइ तथा मिलापत्र लेखनलगायत विषय समेटिएका थिए ।

तालिमको सहजीकरण मेलमिलाप परिषद्मा सूचीकृत सहजकर्ता अर्जुनप्रसाद घिमिरे र सेतरमान थोकरले गरेका थिए । प्रशिक्षक घिमिरेले सहभागीहरूको सक्रियता र व्यावहारिक अभ्यासप्रतिको उत्साह प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा न्यायिक समिति सदस्य रामबहादुर पल्लीको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन उजुरी प्रशासक निरञ्जन लामिछानेले गरेका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  ६ : ०२ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन