नेपालगन्ज । ८ बुँदै घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ बाँकेको १५ औं साधारण सभा सम्पन्न भएको छ । आज नेपालगन्जनमा आयोजना गरिएको महासंघ बाँकेको १५ औं साधारणसभा ८ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।
साधारणसभाले जारी गरेको घोषणापत्रमा बाँकेमा विद्युत अनियमित हुँदा जिल्लामा सञ्चालित मिडियाहरु सञ्चालनमा कठिनाइ भएकाले नियमित रुपमा विद्युत आपूर्तिका लागि नेपाल विद्युत प्राधिकरणसँग जोडदार माग गर्ने, कुनै पनि बाहानामा पत्रकार र सञ्चारमाध्यममाथि हुने आक्रमण, धाकधम्की, त्रासका घटनाको भत्र्सना गर्दै पत्रकारले निर्बाध रुपमा समाचार संकलन गर्न पाउने व्यवस्था गर्न तीन तहकै सरकारसँग माग गर्ने, सरकारी विज्ञापन निजी तथा सामुदायिक मिडियालाई पनि उपलब्ध गराउन स्थानीय, प्रदेश र संघीय सरकारलाई पनि लोककल्याणकारी र समानुपातिक विज्ञापनको नीति अवलम्वन गर्न माग गर्ने, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मबाट भ्यूज बटुल्न बढाइचढाइ गरेर प्रस्तुत गर्ने, लान्छना लगाउने, दोषी करार गर्ने आफै वलिक, आफै न्यायाधीश बनेर गर्ने सञ्चार कर्मलाई पत्रकारिता ठानेर राज्यका निकाय, राजनीतिक दल र सामाजिक अगुवाहरुले दोष जति सबै पत्रकार र मूलधारका मिडियालाई दिने प्रवृत्ति बढ्दो रहेको उल्लेख गर्दै कन्टेन्ट क्रियटर, सोसल मिडिया इन्फ्लुएन्सर, टिकटकर, यूट्युबे र सामाजिक मिडिया प्रयोगकर्ता र पत्रिका, रेडियो, टेलिभिजन र अनलाइन जस्ता मूलधारका मिडियामा समाचार र समाचारीय सामग्री समन्धी काम गर्ने श्रमजीवी पत्रकारबीचको कर्मभेद बुझेर मात्र टिप्पणी गर्न सम्बद्ध सबैलाई ध्यानाकर्षण गर्ने लगायत रहेका छन् ।
सभाले सत्य, तथ्य तथा सन्तुलित समाचार लेख्न तथा पत्रकार आचार संहिता पूर्ण पालना गर्न पनि साधारणसभा सम्पूर्ण श्रमजीवी पत्रकारसँग आग्रह गर्ने, जिल्लाका सबै स्थानीय तहले हरेक वर्ष लाखौं रकम विनियोजन गर्ने मिडिया प्रबद्र्धनका कार्यक्रमहरु पारदर्शी नहुँदा व्यक्ति विशेषले मात्र लाभ लिइरहेका जनाएदै जिल्लाबाट सञ्चालित सञ्चार गृह आर्थिक संकटमा परेर बन्द भएका र बन्द हुने स्थितिमा स्थानीय मिडियाको दिगोपन र श्रमजीवी पत्रकारको क्षमता अभिवृद्धि गर्न मिडिया लक्षित कार्यक्रमबाट लाभ दिलाउन जिल्लाका सबै स्थानीय तहमा सञ्चार नीति निर्माण गर्न र भएका सञ्चार नीति कार्यान्वयनका लागि ऐन, नियम, कार्यविधि र निर्देशिका जारी गरी कार्यान्वयन गर्न जोडदार माग गर्ने समेत घाषणापत्रमा उल्लेख गरिएको छ ।
साधारण सभामा बाँके र बर्दियाका पत्रकारहरु पुरस्कृत भएका छन् । कार्यक्रमका प्रमुख अतिथी एवम् नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासनले पत्रकारहरुलाई नगदसहित पुरस्कृत गरेका थिए ।
साधारणसभाबाट रामकली–चन्द्रकला कुर्मी शिक्षा पत्रकारिता पुरस्कारबाट पत्रकार डिल्ली शाहीलाई पुरस्कृत गरिएको छ । उनलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । यस्तै बेलमती शर्मा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट गणेश रावत र देवेन्द्रराज पौडेल पुरस्कृत भएका छन् । उनीहरु दुबै जनालाई जनही ५ हजारसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको थियो ।
यसैगरी माधवी स्वास्थ्य पत्रकारिता पुरस्कारबाट बाँकेका प्रियास्मृति ढकाल र बर्दियाका रामप्रसाद चौहान पुरस्कृत भएका छन् । उनीहरु दुबै जनालाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरिएको छ । त्यस्तै राम आधार–रामप्यारी पत्रकारिता पुरस्कारबाट पवित्रा परियार र सजल गैरे पुरस्कृत भएका छन् ।
दुबै जनालाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरियो । त्यसैगरी आँखा स्वास्थ्य शिक्षा पत्रकारिता पुरस्कारबाट (संस्थागत) स्वास्थ्य पेज डटकम अनलाईनलाई प्रदान गरियो । उक्त संस्थालाई ५ हजार ५ सय रुपैयाँसहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको छ ।
यस्तै सुर्यनाथ गौतम स्वास्थ्य (मुटु रोग)पत्रकारिता पुरस्कारबाट मधु पौडेल पुरस्कृत भएका छन् । उनलाई नगद ५ हजारसहित दोसल्ला ओढाएर सम्मान गरियो ।
महासंघ बाँकेका अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न् साधारण सभाको बन्द शत्रमा सचिव कृष्ण ओलीले प्रस्तुत गरेको सांगठनिक र कोषाध्यक्ष सुनिल रेग्मीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित पारित गरिएको छ ।
साधारणसभाको उदघाटनसत्रमा बोल्ने बिभिन्न वक्ताहरुले महासंघको साधारणसभाको सफलताको शुभकानमा व्यक्त गरेका थिए ।




















प्रतिक्रिया