काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक र प्रत्यक्ष सुधार ल्याउन सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा सदस्य राष्ट्रका राजदूतहरू र काठमाडौंस्थित अन्य मुलुकका राजदूतहरूसँग भएको संयुक्त भेटवार्तामा प्रधानमन्त्री शाहले वर्तमान परिस्थितिको गम्भीरता र सरकारमाथि रहेको जिम्मेवारीबारे आफूहरू पूर्ण रूपमा सचेत रहेको उल्लेख गरे।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दिपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले हालै सम्पन्न निर्वाचनले सुशासन र समावेशी आर्थिक समृद्धिका पक्षमा स्पष्ट जनादेश दिएको बताए। उनले नयाँ सरकार गठन भए पनि नीतिगत निरन्तरता कायम रहने स्पष्ट पार्दै लोकतान्त्रिक मूल्य–मान्यता र राजनीतिक स्थिरताको संरक्षणमा सरकार दृढ रहेको उल्लेख गरे।
“नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा अलग हुनु होइन,” प्रधानमन्त्री शाहले भने, “नेपालको नीति स्पष्ट, स्थिर र अनुमानयोग्य रहने सुनिश्चित गर्दै हामी सुशासन र समावेशी विकासका लागि काम गरिरहेका छौँ।”
प्रधानमन्त्री शाहले आर्थिक वृद्धि, रोजगारी सिर्जना र नयाँ अवसर विस्तारका लागि नेपालले विश्व बजारसँग सहकार्य बढाउने नीति लिएको बताए। उनले लगानी प्रक्रियालाई थप सहज बनाउने, नवप्रवर्तनलाई प्रोत्साहन गर्ने तथा दिगो विकासलाई प्राथमिकतामा राख्ने सरकारको योजना रहेको जानकारी दिए।
विदेश नीतिका विषयमा प्रधानमन्त्री शाहले नेपालले सन्तुलित र व्यावहारिक कूटनीतिक नीति अवलम्बनलाई निरन्तरता दिने बताए। छिमेकी मुलुक, विकास साझेदार र मित्रराष्ट्रसँगको सम्बन्ध आपसी सम्मान, सार्वभौम समानता र साझा समृद्धिको सिद्धान्तमा आधारित रहने उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले नेपालको विकासमा निरन्तर सहयोग पुर्याउँदै आएका विकास साझेदार तथा मित्रराष्ट्रप्रति आभार व्यक्त गर्दै व्यापार, लगानी, हरित ऊर्जा, जलवायु परिवर्तन र पर्यटनलगायत क्षेत्रमा सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको बताए।
भेटका क्रममा उनले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै शान्ति स्थापनाका लागि सैन्य संघर्षभन्दा संवाद, कूटनीति र अन्तर्राष्ट्रिय कानुनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
उक्त अवसरमा सहभागी राजदूतहरूले नेपालमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा प्रशंसा गर्दै प्रधानमन्त्री शाहलाई नयाँ सरकारको नेतृत्व सम्हालेकोमा बधाई दिएका थिए। साथै, आर्थिक विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा नेपालसँग सहकार्य र लगानी विस्तार गर्न आफूहरू तयार रहेको प्रतिबद्धता पनि जनाएका थिए।



















प्रतिक्रिया