२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

अभावमै उपलब्धि खोज्दै ‘सगरमाथा मावि सिक्रेटार’



भोजपुर । भोजपुरको अरुण गाउँपालिका-७ सिक्रेटारमा रहेको सगरमाथा माध्यमिक विद्यालय सीमित जनशक्ति, अपुग दरबन्दी तथा न्यून स्रोत-साधनका बाबजुद पनि निरन्तर रूपमा शैक्षिक सेवा प्रदान गर्दै आएको छ । ग्रामीण क्षेत्रका विद्यार्थीलाई शिक्षा पहुँचमा राख्ने लक्ष्यसहित सञ्चालनमा रहेको यो विद्यालय अहिले विभिन्न चुनौतीसँग जुध्दै अघि बढिरहेको छ ।

विद्यालयमा प्राथमिक तहका लागि तीन स्थायी दरबन्दी स्वीकृत भए पनि हाल दुई मात्र शिक्षक कार्यरत रहेका छन् । एक दरबन्दी रिक्त हुँदा त्यसको पूर्ति करारमार्फत गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय सञ्चालनका लागि हाल शिक्षक तथा कर्मचारी गरी १५ जना कार्यरत रहेका छन् । तीमध्ये दुई, स्थायी ९प्रावि० चार, करार तीन, निजी स्रोत दुई, राहत तीन जना सङ्घीय अनुदानमा कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक रामरिझन मण्डलले जानकारी दिए ।

विसं २०३१ मा स्थापना भएको यस विद्यालयले विगत पाँच दशकदेखि स्थानीयस्तरमा शैक्षिक सेवा दिँदै आएको छ । समयअनुसार विद्यालयले व्यवस्थापन र शिक्षण पद्धतिमा सुधार गर्ने प्रयास पनि गरिरहेको छ । विविध अभावबीच पनि विद्यालय प्रशासनलाई चुस्त र प्रभावकारी बनाउन विशेष पहल गरिएको छ ।

प्रत्येक विद्यार्थीको विद्यालय भर्नादेखि कक्षाकोठामा हुने गतिविधिसम्मको अभिलेख राख्न छुट्टै रजिस्टरको व्यवस्था गरिएको छ । सोही अभिलेखका आधारमा दैनिक, साप्ताहिक तथा मासिक प्रतिवेदन तयार गरी शैक्षिक गुणस्तर सुधारमा उपयोग गर्ने गरिएको प्रधानाध्यापक मण्डलले बताए ।

प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालन भइरहेको यस विद्यालयलाई आर्थिक अभावलेसमेत असर पारेको छ । त्यसका बाबजुद विद्यालयले विगतमा राम्रो शैक्षिक नतिजा हासिल गर्दै आएको छ । विद्यालयले २०७७ साल र २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा सतप्रतिशत नतिजा ल्याएको थियो । त्यसैगरी २०७८ सालमा ८८ प्रतिशत, २०७९ सालमा ९२ प्रतिशत र २०८० सालमा ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको विद्यालयले जनाएको छ ।

चालु वर्षको परीक्षामा भने १२ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् । यसलाई आगामी दिनमा सुधार गर्दै लैजाने विद्यालयको योजना रहेको छ । यस वर्ष समग्र नतिजा कमजोर रहे पनि पालिका उत्कृष्ट छात्रा यही विद्यालयबाट भएको प्रधानाध्यापक मण्डलले जानकारी दिए ।

“धेरै चुनौतिबीच विद्यालय सञ्चालन गरेका छौँ” प्रधानाध्यापक मण्डलले भने,” यहाँ मुख्य रूपमा जनशक्ति, भौतिक संरचना तथा आर्थिक अभाव छ ।”

नियमित कक्षा सञ्चालन, विद्यार्थीको हाजिरी व्यवस्थापन, शैक्षिक मूल्याङ्कन तथा अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिइएको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले स्रोतसाधन र जनशक्ति अभाव हुँदाहुँदै पनि विद्यार्थीलाई सहज तथा निरन्तर शिक्षा प्रदान गर्नु प्राथमिकता रहेको बताए । आर्थिक श्रोत र जनशक्ति अभाव विद्यालय सञ्चालनको मुख्य चुनौती बनेको उनको भनाइ छ ।

“हामीसँग पर्याप्त दरबन्दी र पूर्वाधार छैन, उनले भने,” तर पनि स्थानीय बालबालिका शिक्षाबाट वञ्चित नहून् भन्ने उद्देश्यले विद्यालय सञ्चालन गरिरहेका छौँ ।” विद्यालय सञ्चालन तथा ऋण तिर्न देउसी-भैलोलगायत विभिन्न गतिविधि सञ्चालन गरेर रकम सङ्कलन गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

हाल विद्यालयमा १२५ विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यार्थी सङ्ख्या बढ्दै गए पनि कक्षा कोठा अभावका कारण पठनपाठनमा चुनौती थपिएको छ । कोठा अभावमा विज्ञान प्रयोगशाला र कक्षाकोठा एउटै स्थानबाट सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । जसले प्रयोगात्मक शिक्षामा असर पार्ने गरेको विद्यालयले जनाएको छ ।

विद्यालयले सीमित स्रोतसाधनकैबीचमा पनि शैक्षिक गुणस्तर सुधारका विभिन्न प्रयासलाई निरन्तरता दिँदै आएको स्थानीयबासी टेकबहादुर बस्नेतले बताए । यहाँ माध्यमिक विद्यालय सञ्चालन नभए सयौँ विद्यार्थीको भविष्य अन्योलमा पर्ने उनको भनाइ छ । दीगो र गुणस्तरीय शिक्षा सुनिश्चित गर्न राज्यले आर्थिक व्यावस्थानसँगै दरबन्दी थप र पूर्वाधार विकासमा सहयोग गर्न आवश्यक रहेको बस्नेतले बताए । यस विद्यालयले ग्रामीण क्षेत्रका विद्यार्थीलाई शिक्षाको पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यो विद्यालय २०७७ सालदेखि प्रस्तावित माध्यमिक विद्यालयका रूपमा सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०८३, शनिबार  ७ : ४८ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका-३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर)

बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु, मनोरञ्जनसँगै वेलनेस कार्यक्रम

बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै