भैरहवा । रुपन्देहीको भैरहवास्थित भाटभटेनी सुपरस्टोरमा आईएनआई सिनेमाज् को औपचारिक शुभारम्भ गरिएको छ । लोत्से इन्टरटेनमेन्ट प्रालिअन्तर्गत सञ्चालनमा आएको यस बहुपर्दा चलचित्रगृहसँगै आईएनआई सिनेमाज्को देशभरका चलचित्रगृहको संख्या सात पुगेको छ ।
सोमबार आयोजित कार्यक्रममा संविधानसभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले भैरहवामा नयाँ लगानी भित्रिनु सकारात्मक पक्ष भएको बताउँदै कला तथा मनोरञ्जन क्षेत्रमा भएको यो लगानीले पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
भाटभटेनी समूहका संस्थापक मिनबहादुर गुरुङको परिकल्पना तथा ग्राण्डी इन्टरनेसनल अस्पताल र ग्राण्डी डेभलपर्सका अध्यक्ष एवं आईएनआई सिनेमाज्का संरक्षक दीपक कुँवर र उनका छोरा आभाष कुँवरको सहकार्यमा यो बहुपर्दा चलचित्रगृह सञ्चालनमा ल्याइएको हो । बेलायतको रिजेन्ट्स विश्वविद्यालयबाट व्यवसाय तथा व्यवस्थापन विषयमा स्नातक गरेका युवा उद्यमी आभाष कुँवरले चलचित्रगृहको नेतृत्व गरिरहेका छन् ।
भाटभटेनी भैरहवामा सञ्चालनमा आएको यस चलचित्रगृहमा दुईवटा प्रदर्शन कक्ष रहेका छन्, जसको कुल क्षमता ३९६ सिट रहेको छ । दर्शकलाई उत्कृष्ट चलचित्र अनुभव प्रदान गर्न बेल्जियममा निर्मित अत्याधुनिक लेजर प्रोजेक्टर तथा चीनमा निर्मित आरामदायी सिटहरू जडान गरिएको छ ।
सञ्चालक आभाष कुँवरका अनुसार नेपालमै पहिलोपटक आईएनआई सिनेमाज्ले भित्र्याएको १६ च्यानल डीटीएस–एक्स इमर्सिभ ध्वनि प्रणाली यस चलचित्रगृहमा जडान गरिएको छ । यसअघि काठमाडौंको बानेश्वर र नवलपुरको देवचुलीस्थित चलचित्रगृहमा मात्र यो प्रविधि प्रयोग गरिएको थियो ।
चलचित्रगृहमा ५० भन्दा बढी प्रकारका खाद्य तथा पेय पदार्थ उपलब्ध गराइने व्यवस्था गरिएको छ । दर्शकको सुरक्षालाई ध्यानमा राख्दै ध्वनि नियन्त्रण पर्खाल, भुइँछाप तथा सिटहरूमा आगो प्रतिरोधी सामग्री प्रयोग गरिएको छ भने आपत्कालीन अवस्थाका लागि विशेष आपत्कालीन बाहिरिने मार्ग को व्यवस्था गरिएको छ ।
आईएनआई सिनेमाज्को सातौँ शाखा सञ्चालनमा आएसँगै देशभर यसको कुल पर्दा संख्या १३ र सिट क्षमता २ हजार ५ सय ५४ पुगेको कम्पनीले जनाएको छ ।
यसअघि काठमाडौंको लोत्से मल (गोंगबु), एनबी सेन्टर (बानेश्वर), विश्वज्योति मल (जमल), बुटवल सिटी सेन्टर, सिमरा तथा नवलपुरको देवचुलीमा यसका चलचित्रगृह सञ्चालनमा रहेका छन् ।
दर्शकहरूले कम्पनीको आधिकारिक वेबसाइट, ईसेवा, खल्ती एप वा चलचित्रगृहको काउन्टरमार्फत डिजिटल तथा नगद भुक्तानी गरी टिकट बुकिङ गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।



















प्रतिक्रिया