बुटवल । बुटवलको प्रमुख व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा भएको भनिएको चोरी प्रकरणको रहस्य खुलेको छ । प्रारम्भिक रूपमा करिब ८० तोला सुन तथा सुनका गरगहना चोरी भएको दाबी गरिएको घटनामा पसल सञ्चालक स्वयं नै मुख्य योजनाकार रहेको तथ्य प्रहरी अनुसन्धानबाट बाहिर आएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पसल सञ्चालक दिपक विक (सेन्चुरी)ले बीमाबाट रकम दाबी गर्ने र ग्राहक तथा अन्य पसलले धितोमा राखेका सुनका गरगहना समेत आफूले कब्जा गर्न सक्ने उद्देश्यले योजनाबद्ध रूपमा चोरीको नाटक रचेका थिए । घटनामा उनलाई पसलमा कार्यरत कर्मचारी नवीन विकले सहयोग गरेको प्रहरीले जनाएको छ ।
गत जेठ १७ गते तिनाउ सुनचाँदी पसलमा चोरी भएको सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा घटनाको वास्तविकता अपेक्षाभन्दा फरक रहेको खुलेको रुपन्देही प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए ।
पोखरा गएको बहाना, राति आफ्नै पसलमा प्रवेश
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक निसान्त श्रीवास्तवका अनुसार घटनाअघि जेठ १६ गते सञ्चालक दिपक विकले आफू पोखरा घुम्न गएको जानकारी दिएका थिए । तर अनुसन्धानका क्रममा उनी बुटवलमै रहेको र कर्मचारी नवीन विकसँग मिलेर चोरीको योजना बनाएको खुलेको छ ।
प्रहरीले संकलन गरेका सीसीटिभी फुटेज अनुसार दुवै जना राति करिब ९ः३० बजे बुटवलकै एक होटलमा भेटिएका थिए । त्यसपछि मध्यरातपछि दिपक विक आफ्नै पसलभित्र प्रवेश गरेको देखिएको छ ।
फुटेजमा उनी करिब साढे दुई घण्टासम्म पसलभित्र बसेको र सुनका सामग्री राखिएको झोला बोकेर राति करिब २ः३० बजे बाहिर निस्किएको देखिन्छ । त्यसपछि उनी तिनाउ पुल हुँदै विभिन्न स्थानतर्फ गएको दृश्य समेत प्रहरीले फेला पारेको छ ।
अनुसन्धानमा देखियो अनेक शंका
ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक निसान्त श्रीवास्तवको नेतृत्वमा अनुसन्धानका लागि घटना स्थल पुगेको टोलीले पसलभित्र एउटा ठूलो चापीको झुप्पा फेला पार्छ । पसलभित्र रहेका दुईमध्ये सुनका गरगहँना राखिएको लकर खुला अवस्थामा र सुनका सामग्री गायब पारिएको अवस्थामा फेला पार्दछ । त्यस्तै पसलभित्र प्रवेश गर्नुपर्ने च्यानल गेट र बाहिरी सटरमा तोडफोड समेत नगरी चोरी भएको घटनाले प्रहरीलाई अनुसन्धानको सुई कता घुमाउने थप अलमल पार्छ ।
व्यस्त बजारमा करोडौं धनमालको चारी हुनु स्थानीय तथा प्रहरीका लागि पनि सामान्य कुरा थिएन । प्रहरीले विभिन्न घटनाको प्रकृति, विभिन्न ठाउँका सीसीटिभी फुटेज तथा पसल सञ्चालकको अभिव्यक्ति र हाउभाउलाई मसिनो गरी अनुसन्धान गर्दै जाँदा अचम्मको रहस्यमा पुगेको प्रहरी नायव उपरीक्षक श्रीवास्तव बताउँछन् ।
प्रहरीले घटना अनुसन्धानका लागि बुटवलका १५० बढी ठाउँमा राखिएका सीसीटिभी फुटेको सहयोग लिएको थियो । अनुसन्धानमा भेटिएका अनुसार सञ्चालक दिपक वि.क. जेष्ठ १६ गते साँझ पोखरा जाने भनि बहाना बनाउँछन् । उनले आफ्नै पसलका कर्मचारी नविन वि.कसँग मिलेर बुटवलकै एक होटलमा बस्दै योजना बनाएको सीसी टिभी फुटेजमा देखिन्छ । रातको साढे ९ बजे होटलमा बसेर योजना बनाएका उनीहरु रातको १२ बजेपछि सञ्चालक दिपक आफ्नो सपल चोरीका लागि प्रवेश गरेको सीसी टिभी फुटेजमा देखिन्छ । पसल भित्र उनले करिब साढे २ घण्टा विताएपछि गरगहँनासहितको झोला बोकेर साढे २ बजेको समयमा बाहिर निस्किएको देखिन्छ । झोला बोकेर पूर्व-पश्चिम राजमार्गको तिनाउ पुल हुँदै पारी बुटवलदेखि पुनः गोलपार्क तथा सिद्धबाबासम्म पुगेको भिडियो फुटेज भेटिन्छ ।
आर्थिक संकटबाट बच्न रचियो प्रपञ्च
प्रहरी अनुसन्धानअनुसार सञ्चालक विक आर्थिक तथा पारिवारिक समस्यामा परेका थिए । ग्राहकहरूले धितोमा राखेका सुनका गरगहना उनले बिक्री गरेर खर्च गरिसकेका थिए । सुनको मूल्य बढ्दै गएपछि ती गरगहना पुनः किनेर फिर्ता गर्न सक्ने अवस्था नरहेको प्रहरीको भनाइ छ ।
यही परिस्थितिबाट उम्किन उनले पसल लुटिएको नाटक सिर्जना गरी बीमा रकम प्राप्त गर्ने तथा धितोका सुन फिर्ता दिनुपर्ने दायित्वबाट बच्ने योजना बनाएको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार केरकारका क्रममा दिपक विकले आफूले योजना बनाएर घटना घटाएको स्वीकार गरेका छन् । घटनामा संलग्न दुवै जनामाथि थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो घटनाले करोडौं रुपैयाँ बराबरको चोरी भएको भनिएको प्रकरण अन्ततः पसल सञ्चालककै योजनामा गरिएको नक्कली चोरी भएको खुलासा भएको छ ।



















प्रतिक्रिया