बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले चोरी, लुटपाट तथा भारतबाट चोरीका मोटरसाइकल नेपाल भित्र्याई नक्कली नम्बर प्लेट र सवारी दर्ता किताब (ब्लुबुक) तयार गरी बिक्री-वितरण गर्ने गिरोहविरुद्ध विशेष अभियान सञ्चालन गर्दै विभिन्न घटनामा संलग्न नौ जनालाई पक्राउ गरेको छ । अभियानका क्रममा चोरी गरिएका सवारीसाधन, सुनका गरगहना तथा नक्कली कागजात तयार गर्न प्रयोग हुने उपकरणसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) जनकबहादुर शाहीका अनुसार बुटवल उपमहानगरपालिका-११ कालिकानगरस्थित द कन्सेप्ट क्लब अगाडि गत असार १६ गते गिरीराज राना (१८) र सुन्दर बगाले (२३) माथि धारिलो हतियार चक्कु तथा हेल्मेट प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका बुटवल-११ का २९ वर्षीय सुमित गुरुङलाई दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीबाट पक्राउ गरिएको हो ।
गुरुङविरुद्ध ज्यान मार्ने उद्योग मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी यसअघि कर्तव्य ज्यान मुद्दामा आठ वर्ष कैद सजाय भुक्तान गरी २०८० साल असोजमा कारागारबाट छुटेका व्यक्ति हुन् ।
यसैबीच, भारतबाट चोरी गरिएका मोटरसाइकल नेपाल ल्याई नेपाली नम्बर प्लेट जडान गर्ने, नक्कली ब्लुबुक तयार गरी बिक्री गर्ने गिरोह सक्रिय रहेको गोप्य सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानमा खानतलासी गरेको थियो । सो क्रममा पाल्पा तानसेन नगरपालिका-८ घर भई हाल बुटवल-११ बस्ने २९ वर्षीय अशोक सारु, बुटवल-१५ का २९ वर्षीय सरोज उपाध्याय, बुटवल-१३ का ३६ वर्षीय महेन्द्र गुरुङ र बुटवल-११ का २७ वर्षीय विकास केसी पक्राउ परेका छन् ।
उनीहरूको साथबाट ६ वटा मोटरसाइकल, ३ वटा स्कुटर, एक थान ल्यापटप तथा एक थान रङ्गीन प्रिन्टर बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद उपकरण नक्कली सवारी दर्ता किताब तथा अन्य कागजात तयार गर्न प्रयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका महेन्द्र गुरुङ यसअघि लागूऔषध मुद्दामा पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना भुक्तान गरिसकेका व्यक्ति हुन् भने विकास केसी सार्वजनिक अपराध मुद्दामा जरिवाना तिरेर छुटेका व्यक्ति रहेको प्रहरी अभिलेखमा उल्लेख छ ।
त्यसैगरी, सुनका गरगहना चोरी प्रकरणमा पनि प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चोरी भएको सुनका सिक्री र पेन्डेन्ट सम्बन्धी उजुरी तथा सीसीटीभी फुटेजको आधारमा गरिएको अनुसन्धानपछि तिलोत्तमा नगरपालिका-३ शान्तिचोकबाट घटनामा प्रयोग भएको लु ६५ प २१२१ नम्बरको मोटरसाइकल र चोरी भएका दुई थान सुनका सिक्री बरामद गरिएको हो ।
यस घटनामा भारत उत्तर प्रदेश गोरखपुरका ३२ वर्षीय राहुल जयसवाल, उत्तर प्रदेश महाराजगञ्जका २२ वर्षीय प्रिन्स जयसवाल, भारत बिहारको वाल्मीकिनगरका २८ वर्षीय नितेश कुमार गुप्ता तथा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५ का ३२ वर्षीय प्रदीप कान्दु बनियाँ पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) निशान्त श्रीवास्तवका अनुसार पक्राउ परेका प्रदीप कान्दु बनियाँ यसअघि पनि चोरीसम्बन्धी मुद्दामा दोषी ठहर भई ५० हजार रुपैयाँ जरिवाना तिरेर छुटेका व्यक्ति हुन् ।
प्रहरीले पक्राउ परेका सबैमाथि सम्बन्धित कसुरमा थप अनुसन्धान अघि बढाइएको जनाएको छ । साथै चोरी, लुटपाट तथा नक्कली कागजात प्रयोग गरी हुने आपराधिक गतिविधिविरुद्ध विशेष निगरानी र अभियानलाई अझ प्रभावकारी बनाइने प्रहरीको भनाइ छ ।



















प्रतिक्रिया