२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी धर्ना, निर्णय फिर्ता लिन माग



भैरहवा । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन तथा सूचना वितरणसम्बन्धी सरकारी निर्णयको विरोध गर्दै देशभर धर्ना कार्यक्रम सम्पन्न गरेको छ । महासंघले उक्त निर्णयलाई विभेदकारी, स्वेच्छाचारी तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै तत्काल खारेज गर्न माग गरेको हो ।

यसैक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाले जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि धर्ना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, नागरिकको सूचनाको अधिकार सुनिश्चितता तथा सञ्चारमाध्यममैत्री नीतिको माग गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले सरकारी विज्ञापन तथा सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन-प्रसारण गर्ने निर्णय संविधानको भावना र प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको बताए । सरकारले निर्णय सच्याउन नसके थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने अवस्था आउने चेतावनी उनले दिए ।

महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्यले सरकारी निर्णयले निजी सञ्चारमाध्यमलाई विभेद गरेको आरोप लगाउँदै प्रेस स्वतन्त्रताको पक्षमा सञ्चार क्षेत्र एकताबद्ध रहेको बताए । उनले आन्दोलनमा साथ दिने सबैप्रति आभार व्यक्त गर्दै निर्णय फिर्ता नभएसम्म संघर्ष जारी रहने बताए ।

महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले सरकार सञ्चारमाध्यमप्रति असहिष्णु बन्दै गएको आरोप लगाए । लोकतन्त्रको महत्वपूर्ण अंगका रूपमा रहेको सञ्चार क्षेत्रलाई कमजोर बनाउने प्रयास स्वीकार्य नहुने उनको भनाइ थियो । उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने कुनै पनि प्रयासविरुद्ध पत्रकार समुदाय एकजुट भएर उभिने बताए ।

राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशका अध्यक्ष गोपाल ज्ञवालीले विज्ञापन वितरणसम्बन्धी सरकारी नीति स्वेच्छाचारी र विभेदकारी भएको टिप्पणी गरे । उनले निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा कमजोर बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको आरोप लगाउँदै महासंघको आन्दोलनमा निरन्तर साथ रहने बताए ।

पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार विनोद परियारले सरकारी विज्ञापनबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने नीति प्रेसमाथिको अप्रत्यक्ष नियन्त्रणको प्रयास भएको बताए । राज्यले सबै सञ्चारमाध्यमप्रति समान व्यवहार गर्नुपर्ने र कुनै पनि प्रकारको विभेद स्वीकार गर्न नसकिने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासंघले सरकारको निर्णय प्रेस स्वतन्त्रता, निष्पक्ष सूचना प्रवाह तथा लोकतान्त्रिक मूल्य-मान्यताविपरीत रहेको भन्दै तत्काल फिर्ता लिन माग गरेको छ । साथै, माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ८ : २९ बजे

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको