४ असार २०८३, बिहिबार | June 18, 2026

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै



झापा । जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लामा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ गठनको प्रक्रिया अघि बढेको झापा निर्वाचन क्षेत्र नं १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिइन । “प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरुलाई प्रक्रिया अघि बढाउन बुधबार भनिसकेको छ”, उनले भनिन, “अब प्रमुख जिल्ला अधिकारीले ‘स्पेसल टास्क फोर्स’ परिचालनका लागि आवश्यक समन्वय गर्नु हुनेछ ।”

गतहप्ता मेचीनगर नगरपालिका-४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणमा मृत्यु भएपछि स्थानीयवासीले जीउधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका छन् ।

सोही घटनापश्चात् सांसद डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले जङ्गली हात्ती नियन्त्रण गरी नागरिकको जीउधनको सुरक्षाका लागि ठोस कदम चाल्न सरकारसँग माग गर्दै संसद्मा बोलेका थिए ।

‘स्पेसल टास्क फोर्स’मा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइने र त्यसको परिचालन प्रमुख जिल्ला अधिकारी आफैँले गर्ने कार्ययोजना बनेको सांसद डाँगीले जानकारी दिए । फोर्सलाई हात्तीको प्रवेशगौडा मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाँगी क्षेत्रमा खटाइने जनाइएको छ । सो क्षेत्रमा अन्तरराष्ट्रिय सीमा पार गरेर भारतको आसाम र पश्चिम बङ्गालबाट ३० देखि १०० वटासम्म जङ्गली हात्तीको बथान एकैपटकमा नेपाल प्रवेश गर्दै आएको छ ।

वन्यजन्तु आरक्ष क्षेत्र नभएकाले हात्ती नियन्त्रणका लागि सिधै सुरक्षाकर्मी परिचालन गर्ने प्रक्रिया सहज छैन । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी सङ्घीय सरकार मातहत रहेका छन् भने सशस्त्र वन रक्षक प्रदेश सरकारको मातहतमा रहन्छन् ।

‘स्पेसल टास्क फोर्स’मा कति सुरक्षाकर्मी परिचालन हुने भन्ने यकिन भइसकेको छैन । सांसद डाँगीले ५० जना सुरक्षाकर्मी माग गरिएको बताएकी छिन । उनले भनिन, “हात्ती नियन्त्रणका लागि अनुभवी र तालिमप्राप्त सुरक्षाकर्मी परिचालन गर्नुपर्ने भएकाले सुरुमा कम्तीमा दश जनाको सङ्ख्यामा भए पनि ‘स्पेसल टास्क फोर्स’ परिचालन गर्दा हुने सुझाव आइरहेको छ ।”

मेचीनगरमा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने खबरले स्थानीयवासी उत्साहित भएका छन् । मेचीनगर नगरपालिका-४ का वडाध्यक्ष अर्जुन कार्कीले सर्वसाधारणको जीउधनको सुरक्षाका लागि नेपाल सरकारले सुरक्षाकर्मी परिचालन गर्ने खबर स्वागतयोग्य रहेको बताए । उनले हात्ती नियन्त्रणका लागि प्रशिक्षण प्राप्त सुरक्षाकर्मी खटाउनुपर्ने सुझाव दिएका छन ।

तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष नीलकण्ठ तिवारी भारतीय क्षेत्रबाट हात्तीको बथान भित्रिन नदिने र स्थानीयवासीलाई ढुक्क महसुस गराउने ठोस कार्ययोजनासहित सरकार अघि बढ्नुपर्ने बताउँछन ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ९ : १० बजे

झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो

भद्रपुर । जिल्लामा पछिल्लो महिनामा भएका सवारी दुर्घटनाहरूमा मानवीय त्रुटि

पासपोर्ट खरिद प्रकरण : अख्तियारले बयानका लागि बोलायो जर्मन कम्पनीलाई

काठमाडौं । विद्युतीय मेसिन रिडेबल पासपोर्ट (ई-पासपोर्ट) खरिद प्रक्रियामा भएको

रास्वपा प्रथम महाधिवेशन : महाधिवेशन स्थल निर्माण तीव्र

नारायणगढ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को यही असार ७ देखि

हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै

झापा । जङ्गली हात्तीबाट सर्वसाधारणको जीउधनको सुरक्षाका लागि जिल्लामा ‘स्पेसल

इन्जुरी समयमा यिरेन्कीको निर्णायक गोल, पानामामाथि घानाको संघर्षपूर्ण जित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा