काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा सेनेगलले इराकलाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ ।
क्यानडाको टोरन्टोमा शुक्रबार बिहान सम्पन्न खेलमा सेनेगलले सुरुदेखि नै दबाबपूर्ण प्रदर्शन गर्दै एकतर्फी जित दर्ता गरेको हो । यो जितसँगै सेनेगल समूहमा ३ अंकसहित तेस्रो स्थानमा रहँदै उत्कृष्ट तेस्रो हुने टोलीहरूको सूचीमा आफ्नो सम्भावना जीवित राख्न सफल भएको छ । यद्यपि, अन्तिम ३२ मा स्थान सुरक्षित गर्न उसले अन्य समूहका नतिजाको प्रतीक्षा गर्नुपर्नेछ ।
सेनेगलका लागि पापे गुएले दुई गोल गरे भने हबिब डियारा, इस्माइला सार र इलिमान एन्डियायेले एक-एक गोल थपे ।
खेलको चौथो मिनेटमै हबिब डियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा सेनेगलले थप चार गोल गर्यो । ५६ औँ मिनेटमा इस्माइला सारले गोल गरेपछि टोलीले २-० को अग्रता बनायो । त्यसपछि ५९ औँ र ७१ औँ मिनेटमा पापे गुएले लगातार दुई गोल गर्दै अन्तर ४-० पुर्याए । ८२ औँ मिनेटमा इलिमान एन्डियायेले गोल गरेपछि सेनेगलको ५-० को शानदार जित सुनिश्चित भयो ।
इराक भने खेलको १३ औँ मिनेटमै रेबिन सुलाकाले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएको थियो । संख्यात्मक रूपमा कमजोर बनेको इराकले खेलभर कुनै प्रभाव जमाउन सकेन र अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरियो ।
यस समूहबाट फ्रान्स तीनै खेल जित्दै ९ अंकसहित समूह विजेता बनेको छ भने ६ अंक जोडेको नर्वे उपविजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ ।



















प्रतिक्रिया