काठमाडौं । बुकायो साकाको उत्कृष्ट ह्याट्रिकको मद्दतले इङ्गल्यान्डले फ्रान्सलाई ६-४ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को तेस्रो स्थान जितेको छ । गोलको वर्षा भएको रोमाञ्चक प्रतिस्पर्धामा फ्रान्स पराजित भए पनि उसका स्टार फरवार्ड किलियन एमबाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनेका छन् ।
सेमिफाइनलमा स्पेनसँग पराजित भएको फ्रान्स र अर्जेन्टिनासँग अन्तिम समयमा चुकेको इङ्गल्यान्ड तेस्रो स्थानका लागि आमनेसामने भएका थिए ।
मियामीमा शनिबार राति भएको खेलमा इङ्गल्यान्डका प्रशिक्षक थोमस टुचेलले ह्यारी केन र जुड बेलिङ्घमलाई सुरुआती टोलीमा नराख्दा फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पसले पनि केही प्रमुख खेलाडीलाई बेन्चमा राखेका थिए ।
इङ्गल्यान्डले खेलको तेस्रो मिनेटमै डेक्लान राइसको गोलबाट अग्रता लिएको थियो । त्यसपछि एज्री कोन्साले हेडमार्फत दोस्रो गोल थपे । खेलको ३०औँ मिनेटमा बुकायो साकाले गोल गर्दै अग्रता ३–० बनाए भने पहिलो हाफको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४-० को बलियो अवस्थामा पुर्याए ।
दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमन गर्ने प्रयास गर्यो । एमबाप्पेले प्रतियोगिताको नवौँ गोल गर्दै फ्रान्सका लागि गोलको खाता खोले । त्यसपछि बार्कोलाले दोस्रो गोल गरे भने ओलिसेको पासमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ४-३ को रोमाञ्चक अवस्थामा पुर्याए । यस गोलसँगै एमबाप्पे २२ गोलसहित विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बने ।
तर खेलको अन्त्यतिर इङ्गल्यान्डले पेनाल्टी पाएपछि साकाले त्यसलाई गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र टोलीलाई ५-३ को अग्रता दिलाए ।
इन्जुरी समयमा दुवै टोलीबाट थप गोल भए । फ्रान्सका लागि ओसमाने डेम्बेलेले एक गोल फर्काए भने जुड बेलिङ्घमले इङ्गल्यान्डका लागि अर्को गोल थप्दै खेल ६-४ मा टुङ्ग्याए । बेलिङ्घम एउटै विश्वकपमा सात गोल गर्ने पहिलो इङ्गल्यान्डका खेलाडी पनि बने ।
सन् १९६६ मा विश्वकप जितेपछि इङ्गल्यान्डले विश्वकपमा हासिल गरेको यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो । यता, सन् २०१८ मा फ्रान्सलाई विश्वकप उपाधि दिलाएका प्रशिक्षक डिडियर डेसच्याम्पसको सुखद बिदाइ भने हुन सकेन ।
अब विश्वकप २०२६ को उपाधिका लागि सोमबार बिहान अर्जेन्टिना र स्पेनबीच फाइनल प्रतिस्पर्धा हुनेछ ।



















प्रतिक्रिया