१६ असार २०८३, मंगलबार | June 30, 2026

इन्जुरी समयमा मार्टिनेली चम्किए, ब्राजिल अन्तिम १६ मा प्रवेश



काठमाडौं । अतिरिक्त समयको इन्जुरी समयमा ग्याब्रिएल मार्टिनेलीले निर्णायक गोल गरेपछि पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

अमेरिकामा सोमबार राति सम्पन्न राउन्ड अफ ३२ को रोमाञ्चक खेलमा ब्राजिलले जापानलाई २-१ गोलअन्तरले पराजित गर्दै नकआउट चरणको अर्को यात्रा तय गरेको हो ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मार्टिनेलीले इन्जुरी समयको छैटौँ मिनेटमा गोल गर्दै ब्राजिललाई अविस्मरणीय जित दिलाए । अब ब्राजिलले अन्तिम १६ मा आइभोरी कोस्ट वा नर्वेमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको २९औँ मिनेटमा काइसु सानोले शानदार गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाएका थिए । उनले मिडफिल्डमा ब्राजिलका खेलाडीबाट बल खोसेर डिबक्स बाहिरबाट गरेको शक्तिशाली प्रहार गोलमा परिणत गरेका थिए ।

एक गोलले पछि परेको ब्राजिलले दोस्रो हाफमा लगातार दबाब सिर्जना गर्यो । ५२ औँ मिनेटमा ब्रुनो गुइमारेसको हेडरलाई जापानी गोलकिपर जायन सुजुकीले उत्कृष्ट बचाउ गरे । त्यसको चार मिनेटपछि ५६ औँ मिनेटमा ग्याब्रिएल मागाल्हेसको पासमा क्यासेमिरोले हेडरमार्फत गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए ।

५८ औँ मिनेटमा जारी विश्वकपमा चार गोल गरिसकेका भिनिसियस जुनियरले ब्राजिललाई अग्रता दिलाउने सुनौलो अवसर पाए पनि उनको प्रहारलाई गोलकिपर सुजुकीले विफल पार्दै जापानलाई खेलमा जोगाएका थिए ।

निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । दुवै टोलीले जितका लागि प्रयास जारी राखेका बेला इन्जुरी समयको अन्तिम क्षणमा मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई अन्तिम १६ मा पुर्‍याए ।

यो हारसँगै जापानको विश्वकप नकआउट चरणमा पहिलो जित निकाल्ने सपना फेरि अधुरै बनेको छ। साथै, जापानको पछिल्लो १० खेलको अपराजित यात्रा पनि यही खेलसँगै समाप्त भएको छ ।

ब्राजिलका लागि यो जित ऐतिहासिक संयोग पनि बन्यो । सन् १९५८ मा यही मितिमा १७ वर्षीय पेलेले दुई गोल गर्दै ब्राजिललाई स्विडेनविरुद्ध पहिलो विश्वकप उपाधि दिलाएका थिए । सोही ऐतिहासिक उपलब्धिको वार्षिकोत्सवकै दिन ब्राजिलले अर्को स्मरणीय जित दर्ता गरेको हो ।

ब्राजिल र जापानबीच फुटबल तथा सांस्कृतिक सम्बन्ध पनि निकै गहिरो मानिन्छ । जापान बाहिर सबैभन्दा धेरै जापानी मूलका नागरिक ब्राजिलमा बसोबास गर्छन् । ब्राजिलियन फुटबल लिजेन्ड जिकोले जापानी फुटबलको विकासमा महत्वपूर्ण योगदान दिएका थिए। उनले सन् १९९१ मा जापानी क्लब कासिमा एन्ट्लर्सबाट खेल्दै जापानी फुटबललाई नयाँ उचाइमा पुर्‍याएका थिए ।

ब्राजिल र जापानबीच हालसम्म भएका १५ भेटमध्ये ब्राजिलको यो १२ औँ जित हो । समूह चरणमा ब्राजिलले मोरक्कोसँग बराबरी खेल्दै हाइटी र स्कटल्यान्डलाई पराजित गरेर नकआउट चरणमा स्थान बनाएको थियो भने जापान समूह ‘एफ’ को उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको थियो ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ७ : ५५ बजे

प्रहरीद्वारा करिब २० लाख बढीको अवैध ‘आइफोन’ बरामद

बुटवल । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ

अपराधअनुसार अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा रुपन्देहीमा सम्पन्न

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना, चालकसहित २२ जना घाइते

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व सङ्कलन

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना

बर्डफ्लु सङ्क्रमण : काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

काभ्रेपलाञ्चोक । काभ्रेमा बर्डफ्लु सङ्क्रमणका कारण हालसम्म ४० हजारभन्दा बढी