बुटवल । बुटवल उपमहानगरपालिकाले नगरभित्रका कक्षा १ देखि ५ सम्म अध्ययनरत २४ हजारभन्दा बढी विद्यार्थीलाई स्थानीय पाठ्यक्रमअन्तर्गतको ‘हाम्रो बुटवल’ पुस्तक निःशुल्क वितरण गरेको छ । यसअघि सामुदायिक विद्यालयमा मात्र उपलब्ध गराइँदै आएको उक्त पुस्तक यस वर्षदेखि पहिलोपटक संस्थागत विद्यालयका विद्यार्थीलाई पनि निःशुल्क प्रदान गरिएको हो ।
शुक्रबार उपमहानगरपालिकामा आयोजित विशेष कार्यक्रममा नगर प्रमुख खेलराज पाण्डेयले नगरभित्रका विभिन्न विद्यालयका प्रधानाध्यापकलाई पुस्तक हस्तान्तरण गर्दै वितरण अभियानको औपचारिक शुभारम्भ गरे । कार्यक्रममा जनप्रतिनिधि, शिक्षा क्षेत्रका सरोकारवाला, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेयले बुटवलको शैक्षिक गुणस्तर सुधारलाई उपमहानगरपालिकाले उच्च प्राथमिकतामा राख्दै आएको बताए । उनले आफ्नो कार्यकालमा शिक्षा क्षेत्रका लागि करोडौँ रुपैयाँ बजेट विनियोजन गरिएको उल्लेख गर्दै त्यसको सकारात्मक प्रभाव विद्यालयको सिकाइ प्रक्रिया, शैक्षिक वातावरण र स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा देखिन थालेको बताए ।
उनले स्थानीय इतिहास, संस्कृति, भूगोल, सामाजिक संरचना, पर्यावरण तथा बुटवलको मौलिक पहिचानबारे बालबालिकालाई सानैदेखि जानकारी गराउने उद्देश्यले ‘हाम्रो बुटवल’ पुस्तक तयार गरिएको उल्लेख गर्दै स्थानीय पाठ्यक्रमले विद्यार्थीमा आफ्नो ठाउँप्रतिको अपनत्व, जिम्मेवारी र गर्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
बुटवल उपमहानगरपालिकाको शिक्षा तथा सामाजिक विकास महाशाखाका प्रमुख मित्रमणि खनालका अनुसार यसअघि प्रकाशित ‘हाम्रो बुटवल’ पुस्तकलाई समयसापेक्ष रूपमा परिमार्जन गरी पुनः प्रकाशन गरिएको हो । पुस्तकमा स्थानीय आवश्यकता, पाठ्यक्रमको अद्यावधिक विषयवस्तु तथा शिक्षण–सिकाइलाई थप प्रभावकारी बनाउने सामग्री समावेश गरिएको उनले जानकारी दिए ।
महाशाखा प्रमुख खनालका अनुसार नगरभित्र सञ्चालित ५३ वटा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि १७ हजार ७५ थान तथा ३४ वटा सामुदायिक विद्यालय, ४ वटा मदरसा र १ वटा गुरुकुलमा अध्ययनरत विद्यार्थीका लागि करिब ७ हजार ५३ थान पुस्तक वितरण गरिनेछ । यससँगै कुल २४ हजारभन्दा बढी विद्यार्थीले निःशुल्क रूपमा स्थानीय पाठ्यक्रमको पुस्तक प्राप्त गर्नेछन् ।
उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रमलाई व्यवहारिक, जीवनोपयोगी र विद्यार्थीमैत्री बनाउने उद्देश्यका साथ ‘हाम्रो बुटवल’ पुस्तकलाई निरन्तर परिमार्जन गर्दै लैजाने जनाएको छ । साथै, सामुदायिक र संस्थागत विद्यालयबीच शैक्षिक अवसरमा समानता कायम गर्ने नीतिअनुसार सबै विद्यार्थीलाई निःशुल्क पुस्तक उपलब्ध गराउने निर्णय गरिएको नगरपालिकाले स्पष्ट पारेको छ ।
स्थानीय तहको आफ्नै पाठ्यक्रममार्फत विद्यार्थीलाई आफ्नो समुदाय, संस्कृति, सम्पदा, प्राकृतिक स्रोत, स्थानीय शासन व्यवस्था तथा विकास गतिविधिबारे जानकारी गराउने उद्देश्यले तयार गरिएको ‘हाम्रो बुटवल’ पुस्तकलाई बुटवलको शैक्षिक सुधार अभियानको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।



















प्रतिक्रिया