काठमाडौं । फिफा विश्वकप २०२६ मा इजिप्टले इतिहास रच्दै पहिलोपटक अन्तिम १६ मा स्थान बनाएको छ । रोमाञ्चक नकआउट खेलमा अष्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै इजिप्टले ऐतिहासिक सफलता हात पारेको हो ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि अतिरिक्त ३० मिनेट खेलाइएको थियो। अतिरिक्त समयमा पनि कुनै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
इजिप्टले खेलको पहिलो हाफमै अग्रता बनाएको थियो । इमाम असौरले गोल गर्दै टोलीलाई १-० को अवस्थामा पुर्याएका थिए । तर दोस्रो हाफको ५४औँ मिनेटमा इजिप्टका मोहम्मद हेनीबाट भएको आत्मघाती गोलपछि अष्ट्रेलियाले खेल १-१ को बराबरीमा ल्यायो ।
त्यसपछि दुवै टोलीले जित निकाल्ने अवसर खोजे पनि निर्धारित समय र अतिरिक्त समयमा गोल हुन सकेन । अन्ततः खेल पेनाल्टीमा पुगेको थियो ।
पेनाल्टी सुटआउटमा इजिप्टका मोहम्मद सबिर, रेमी रबिया, मोहम्मद सलाह र होसम अब्देलगुदले सफल प्रहार गर्दै टोलीलाई जित दिलाए । अष्ट्रेलियाका ह्यारी सुतार र हेरिंगटनले भने आफ्नो पेनाल्टी गोलमा परिणत गर्न नसक्दा टोली विश्वकपबाट बाहिरियो ।
यो जितसँगै इजिप्टले पहिलोपटक विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ । अब क्वाटरफाइनल प्रवेशका लागि इजिप्टले अर्जेन्टिना र केप भर्डेबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।



















प्रतिक्रिया