२३ असार २०८३, मंगलबार | July 7, 2026

मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन



जनकपुरधाम । संसद्भित्र अध्ययन, अनुसन्धान र बौद्धिक संस्कृतिको विकास हुनु लोकतन्त्रको गुणस्तर मापन गर्ने महत्वपूर्ण आधार मानिन्छ । यही सोचलाई व्यवहारमा उतार्ने प्रयासस्वरूप मधेस प्रदेशसभा परिसरमा स्थापना गरिएको पुस्तकालयलाई प्रदेशको संसदीय इतिहासमा दूरगामी र स्वागतयोग्य उपलब्धिका रूपमा हेरिएको छ ।

पुस्तकालय केवल पुस्तक राख्ने कोठा होइन, विचारको संगम, अनुभवको भण्डार र भविष्यका निर्णयलाई दिशा दिने ज्ञानको केन्द्र हो । प्रदेशसभामा प्रस्तुत हुने विधेयक, बजेट, सार्वजनिक नीति, विकास योजना तथा जनसरोकारका विषयमा सांसदहरूले गहन अध्ययन गरी धारणा निर्माण गर्नुपर्ने आवश्यकता महसुस गर्दै प्रदेशसभा सचिवालय परिसरमा सञ्चालनमा ल्याइएको पुस्तकालयले सांसद, कर्मचारी, कानुन व्यवसायी, अनुसन्धानकर्ता, सञ्चारकर्मी तथा विद्यार्थीलाई एउटै थलोबाट आवश्यक सन्दर्भ सामग्री उपलब्ध गराउने विश्वास गरिएको छ ।

यही असार ४ गतेदेखि सञ्चालन भएको पुस्तकालयमा नेपालको संविधान, सङ्घीय तथा प्रदेश कानुन, संसदीय कार्य सञ्चालनसम्बन्धी दस्तावेज, सार्वजनिक नीति, अर्थतन्त्र, सङ्घीयता, राजनीतिक इतिहास, समाजशास्त्र, कृषि, शिक्षा, स्वास्थ्य, महिला तथा बालअधिकार, वातावरण, स्थानीय शासन, अन्तरराष्ट्रिय सम्बन्ध र लोकतान्त्रिक अभ्याससँग सम्बन्धित पुस्तकहरू समावेश गरिएका छन् ।

साथै प्रदेशसभाका बैठकका कार्यवृत्त, समिति प्रतिवेदन, विधेयक, वार्षिक प्रतिवेदन तथा अन्य महत्त्वपूर्ण अभिलेखलाई क्रमशः व्यवस्थित रूपमा सङ्कलन गर्ने योजना बनाइएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइराला बताउँछन्। यसले प्रदेशसभाको संस्थागत स्मृतिलाई सुरक्षित राख्न पनि महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।

“यो पुस्तकालयको उपयोगिता सांसदसम्म मात्र सीमित रहने छैन”, उनी भन्छन्, “प्रदेशसभा सचिवालयका कर्मचारी, विश्वविद्यालयका विद्यार्थी, नीति विश्लेषक, अनुसन्धानकर्ता तथा सञ्चारकर्मीका लागि पनि यो महत्वपूर्ण अध्ययन केन्द्र बन्ने अपेक्षा गरेका छौँ ।” विशेषतः तथ्यमा आधारित समाचार, अनुसन्धान तथा विश्लेषणात्मक सामग्री तयार गर्न पुस्तकालय प्रभावकारी स्रोत बन्न सक्ने उनी बताउँछन् ।

विधेयक पारित गर्नुअघि त्यसको सामाजिक, आर्थिक, कानुनी तथा प्रशासनिक प्रभावको गम्भीर अध्ययन आवश्यक हुन्छ । विकसित लोकतान्त्रिक मुलुकहरूमा सांसदहरूले पुस्तकालय र अनुसन्धान केन्द्रबाट प्राप्त तथ्य, प्रतिवेदन तथा अन्तरराष्ट्रिय अभ्यासको अध्ययनपछि मात्रै संसद्मा धारणा प्रस्तुत गर्ने परम्परा स्थापित भएको छ । त्यही अभ्यासलाई मधेस प्रदेशसभामा पनि संस्थागत गर्ने दिशामा पुस्तकालय एउटा बलियो आधार बन्ने मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवको भनाइ छ ।

पुस्तकालय सञ्चालनमा आएपछि सांसदहरूले विषयगत रूपमा तयारी गरेर तथ्यसहित बहस गर्ने वातावरण विस्तार हुनेछ । “पुस्तकालयले संसद्भित्र हुने छलफललाई अझ परिपक्व, सन्तुलित र परिणाममुखी बनाउने अपेक्षा गरेका छौँ”, सभामुख यादव भन्छन्, “समयको मागअनुसार पुस्तकालयलाई आधुनिक प्रविधिसँग जोड्ने योजना छ ।” पुस्तक, अभिलेख र प्रतिवेदनलाई क्रमशः डिजिटल प्रणालीमा रूपान्तरण गर्दै ई–बुक, डिजिटल अभिलेख, अनलाइन खोज प्रणाली तथा इलेक्ट्रोनिक सन्दर्भ सामग्रीको व्यवस्था गर्न भविष्यमा डिजिटल पुस्तकालयको अवधारणा पूर्ण रूपमा कार्यान्वयन गर्ने योजना रहेको सभामुख यादवको कथन छ ।

प्रदेशसभा परिसरमा स्थापना गरिएको पुस्तकालयले सांसद, कर्मचारी, सञ्चारकर्मी, अनुसन्धानकर्ता तथा अध्ययनमा रुचि राख्ने सबैका लागि ज्ञानको साझा केन्द्रका रूपमा काम गर्ने उहाँको विश्वास छ । पुस्तकालयमा हाल ५०० भन्दा बढी पुस्तक उपलब्ध रहेको जानकारी दिनुहुँदै निकट भविष्यमा ई-लाइब्रेरी सञ्चालनमा ल्याइने सभामुख यादव बताउँछन् ।

पुस्तकालय स्थापनाले प्रदेशसभाको संस्थागत क्षमता अभिवृद्धि हुनुका साथै अध्ययनशील, उत्तरदायी र दूरदर्शी संसदीय अभ्यासलाई थप मजबुत बनाउने उनको भनाइ छ
(((

प्रकाशित मिति : २३ असार २०८३, मंगलबार  ११ : ०९ बजे

प्रधानमन्त्री शाह तथा एडिबी अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंकका अध्यक्ष

पहिरोका कारण सडक अवरुद्ध

काठमाडौँ । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद

रोहिङ्ग्या शिविरमा भूस्खलन : पाँच बालबालिकासहित आठ जनाको मृत्यु

ढाका । बङ्गलादेशको पूर्वी कक्स बजार जिल्लास्थित रोहिङ्ग्या शरणार्थी शिविरमा

टेक जगतमा हलचल मच्चाउँदै माइक्रोसफ्टले गरयो ४८ सय कर्मचारी कटौतीको निर्णय

काठमाडौं । प्रविधि क्षेत्रको दिग्गज कम्पनी माइक्रोसफ्टले अचानक आफ्ना धेरै

राष्ट्र बैंकद्वारा २५ अर्बको ऋणपत्र जारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु २५ अर्बको ऋणपत्रको बोलकबोलको