२८ असार २०८३, आइतबार | July 12, 2026

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति



काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको सोरु गाउँपालिका-१ जवलधाराका २५ वर्षीय गणेश नेपालीको घटनाबारे संघीय सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको उपस्थितिमा आइतबार भएको वार्तापछि तीन पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई राहत, मृतककी श्रीमतीलाई रोजगारी तथा छोरीको उच्च शिक्षासम्मको व्यवस्था गरिने भएको छ ।

सहमतिअनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्नेछ । समितिले गठन भएको सात दिनभित्र घटनाबारे प्रतिवेदन सरकारसमक्ष बुझाउनेछ। गणेश नेपालीलाई सहिद घोषणा गर्ने विषयमा पनि प्रचलित कानुन, विगतका अभ्यास तथा छानबिन समितिको सिफारिसका आधारमा आवश्यक प्रक्रिया अघि बढाइने सहमति भएको छ ।

घटनाका दिन अग्रपंक्तिमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरलाई पत्राचार गर्ने भएको छ । उनीहरूमाथिको थप कारबाही भने छानबिन प्रतिवेदनका आधारमा गरिनेछ ।

सहमतिअनुसार काठमाडौं महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी उपलब्ध गराउनेछ । साथै मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने व्यवस्था मिलाइनेछ। यसका लागि सम्बन्धित सरकारी निकायले आवश्यक समन्वय गर्ने जनाइएको छ ।

त्यसैगरी महानगरपालिकाले कार्यपालिका बैठकबाट निर्णय गराई मृतकको आश्रित परिवारलाई राहत रकम उपलब्ध गराउनेछ । अन्तिम संस्कार तथा काठमाडौंमा हुने काजक्रियाको सम्पूर्ण व्यवस्थापनसमेत महानगरपालिकाले गर्ने सहमति भएको छ ।

पीडित पक्षले शव बुझ्ने, पोस्टमार्टमलगायत कानुनी प्रक्रियामा सहयोग गर्ने तथा अन्तिम संस्कार सम्पन्न गर्ने जिम्मेवारी लिएको छ । मृतकका एकाघरका परिवारको काठमाडौं आवतजावत, बसोबास तथा काजक्रियासम्बन्धी सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्नेछ भने परिवारको स्वास्थ्य बिमाको व्यवस्था सम्बन्धित निकायमार्फत गरिने भएको छ ।

सहमतिपत्रमा सरकार तथा स्थानीय तहका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन् । पीडित पक्षका तर्फबाट मृतककी श्रीमती एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली, बहिनी सुन्दरी नेपाली तथा वार्ता टोलीका सदस्यहरूले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ७ : २१ बजे

अमेरिकी सिनेटर तथा ट्रम्पका प्रमुख सहयोगी ग्राहमको ७१ वर्षको उमेरमा निधन

वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली

गणेश नेपाली प्रकरण : सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति

काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाहको प्रयासपछि उपचारका क्रममा निधन भएका मुगुको

पर्वतको मोदीखोलामा बाढी, सतर्कता अपनाउन आग्रह

पर्वत । कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा भारी वर्षाका

गृहमन्त्रीसहित मन्त्रीहरू होल्डिङ सेन्टरको अवलोकनमा

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरिपाटीस्थित

कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा सारियो

काठमाडौं । लगातारको वर्षापछि जोखिम बढेपछि कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास