काठमाडौं । त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुका गणेश नेपालीको मृत्यु प्रकरणमा उनका परिवारले प्रहरीमा जाहेरी दिने प्रक्रिया अघि बढाएको छ । जाहेरी दर्ताका लागि परिवारका सदस्यहरू सोमबार प्रहरी वृत्त कालीमाटी पुगेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले परिवारबाट प्राप्त हुने जाहेरी दर्ता गरी कानुनी प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
आइतबार मात्रै मृतक गणेश नेपालीका परिवार, काठमाडौं महानगरपालिका र प्रशासनबीच नौबुँदे सहमति भएको थियो। सोही सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन, पीडित परिवारलाई राहत तथा अन्य व्यवस्थासम्बन्धी प्रक्रिया अघि बढाइएको छ ।
गत बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि महानगर प्रहरीले मोटरसाइकलमा ह्विल लक लगाएपछि उत्पन्न विवादका क्रममा गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो ।
घटनापछि प्रहरीले काठमाडौं महानगरपालिकाका नगर प्रहरी तथा घटनाका प्रत्यक्षदर्शीहरूलाई सोधपुछका लागि बोलाएको थियो । आवश्यक बयान र घटना विवरण लिएपछि उनीहरूलाई छाडिएको प्रहरीले जनाएको छ ।
घटनाको विस्तृत छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिले घटनाको वस्तुगत अध्ययन गरी प्रतिवेदन पेश गर्ने जनाइएको छ ।



















प्रतिक्रिया