काठमाडौं । स्वदेशी कृषि उत्पादनले उचित मूल्य र बजार नपाएको भन्दै किसानहरूले बुधबार काठमाडौंको माइतीघर मण्डलामा गोलभेँडा सडकमा फालेर सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
किसानहरूको समूहले आफूहरूले उत्पादन गरेको गोलभेँडा लागत मूल्यसमेत नउठ्ने गरी बिक्री गर्नुपर्ने अवस्था आएको भन्दै सरकारको कृषि नीति किसानमैत्री हुन नसकेको आरोप लगाए। विरोधस्वरूप उनीहरूले गोलभेँडा सडकमै फाल्दै कृषि क्षेत्रप्रति राज्यको उदासीनताप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
प्रदर्शनमा सहभागी किसानहरूले कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, उत्पादनको बजार व्यवस्थापन प्रभावकारी बनाउन तथा किसानको हितलाई केन्द्रमा राखेर कृषि नीति कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।
उनीहरूले कृषि उत्पादनका लागि न्यूनतम समर्थन मूल्य निर्धारण, उत्पादनमा दिइने अनुदान वृद्धि, गुणस्तरीय मल–बीउको सहज उपलब्धता तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति तत्काल लागू गर्नुपर्ने बताएका छन्।
किसानहरूको भनाइमा सस्तो मूल्यमा आयात हुने विदेशी तरकारीका कारण नेपाली उत्पादनले बजारमा प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ। यसले किसानको लगानीसमेत जोखिममा परेको उनीहरूको गुनासो छ।
कृषि क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्ने र किसानलाई उत्पादनदेखि बजारीकरणसम्म प्रभावकारी संरक्षणको व्यवस्था गर्नुपर्ने मागसहित उनीहरूले आफ्नो आन्दोलनलाई आवश्यक परे थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।



















प्रतिक्रिया