८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिस्ट शक्तिलाई कमजोर पार्न योजनाबद्ध रूपमा दीर्घकालीन रणनीति लागू गरिएको दाबी गर्दै अहिले देश गम्भीर राष्ट्रिय र राजनीतिक चुनौतीको चरणमा प्रवेश गरेको बताएका छन्। उनले नेपालमा ‘अर्को दलाई लामा जन्माउने’ प्रयास भइरहेको समेत दाबी गर्दै त्यसलाई राष्ट्रिय संवेदनशीलतासँग जोडेर टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौंमा पुष्पलाल मित्रता केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नेपाली कम्युनिस्टहरू सत्ता र सरकारको व्यवस्थापनमै अल्झिएका बेला कम्युनिस्टविरोधी शक्तिहरूले २० वर्षे रणनीति बनाएर अघि बढेको बताए।

उनले भने, “हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू रणनीति बनाउन लागेछन्। नेपालमा कम्युनिस्ट धेरै भए, यिनलाई ठिक पार्नुपर्छ भनेर २० वर्षे योजना बनाएछन्।”

प्रचण्डका अनुसार कम्युनिस्ट आन्दोलनले वैचारिक बहस, निरन्तर राजनीतिक स्कुलिङ र दीर्घकालीन रणनीतिलाई बेवास्ता गर्दा अहिलेको अवस्था सिर्जना भएको हो। शान्ति प्रक्रियापछि कम्युनिस्ट नेतृत्व सरकार गठन, प्रधानमन्त्री, मन्त्री तथा प्रदेश र स्थानीय तहका सत्ता समीकरणमै केन्द्रित हुँदा रणनीतिक पक्ष ओझेलमा परेको उनले स्वीकार गरे।

“सरकार बनाउने, मन्त्री बनाउने र निर्वाचन जित्ने कामलाई नै रणनीति ठानियो। विचार र राजनीतिक प्रशिक्षणलाई कमजोर बनाइयो। कम्युनिस्ट आन्दोलनको ठूलो गल्ती यहीँ भयो,” उनले भने।

प्रचण्डले चीनविरोधी गतिविधि नेपालमा हुन नदिने प्रतिबद्धता सबै राजनीतिक दलले विगतदेखि व्यक्त गर्दै आए पनि यसपटक त्यसको उल्लङ्घन भएको आरोप लगाए। उनले हालै मनाइएको दलाई लामाको जन्मोत्सवको प्रसंग उल्लेख गर्दै नेपालमा ‘अर्को नयाँ दलाई लामा’ जन्माउने तयारी भइरहेको भन्ने चर्चा चलिरहेको दाबी गरे।

“चीनविरोधी गतिविधि हुन हामी दिने छैनौँ भन्ने सबै दलको साझा प्रतिबद्धता थियो। तर यसपटक त्यो उल्लङ्घन भयो। दलाई लामाको जन्मोत्सव मनाइयो। अब अर्को नयाँ दलाई लामा नेपालमा भन्ने हल्लासमेत चलिरहेको छ,” उनले भने।

उनले वर्तमान परिस्थितिमा जनताले लामो संघर्षबाट प्राप्त गरेका अधिकार क्रमशः कमजोर पार्ने प्रयास भइरहेको आरोप पनि लगाए। उत्पीडित वर्ग, समुदाय, किसान, मजदुर र गरिब जनतामाथि पुनः निरंकुशता लाद्ने प्रयास भइरहेको भन्दै त्यसविरुद्ध साझा प्रतिरोध आवश्यक रहेको उनको भनाइ थियो।

प्रचण्डले अब वामपन्थी शक्तिहरूले साझा न्यूनतम कार्यक्रम बनाएर संयुक्त संघर्षमा उत्रिनुपर्ने आवश्यकता औँल्याए। संसददेखि सडक र आगामी निर्वाचनसम्म सबै मोर्चामा एकीकृत रूपमा संघर्ष गर्नुपर्ने उल्लेख गर्दै उनले विपक्षी शक्तिबाट पनि संगठित राजनीतिक संघर्षको पाठ सिक्नुपर्ने बताए।

“जनतालाई संगठित गर्ने, सदनमा लड्ने, सडकमा लड्ने र निर्वाचनमा लड्ने सबै तयारी गर्नुपर्छ। उनीहरूले एकै दिनमा धेरै कुरा उल्ट्याउन सकिँदो रहेछ भन्ने देखाइदिए। हामीले पनि आफ्नो शैलीमा संगठित भएर अघि बढ्नेबारे गम्भीर रूपमा सोच्नुपर्छ, नत्र देश र आन्दोलन दुवै संकटमा पर्न सक्छ,” उनले भने।

उनले भदौ आन्दोलनका बेला जस्तै सम्पूर्ण वामपन्थी शक्तिहरू साझा न्यूनतम कार्यक्रमका आधारमा एकजुट हुन सके वर्तमान चुनौतीहरूको प्रभावकारी सामना गर्न सकिने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ४ : ४७ बजे

हामी सत्तामा मात्र अल्झिँदा कम्युनिस्ट विरोधी शक्तिले २० वर्षदेखि रणनीति बनाएका रहेछन् : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

तीन वरिष्ठ न्यायाधीशलाई राजीनामा र महाअभियोगको धम्की दिएको अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको दाबी

काठमाडौं । अन्तर्राष्ट्रिय मानवअधिकारसम्बन्धी तीन प्रतिष्ठित संस्थाले सर्वोच्च अदालतका तीन

राहदानी प्रणालीमा देखिएका प्राविधिक समस्या क्रमशः समाधान हुन्छन् : परराष्ट्र

काठमाडौं । सरकारले नयाँ राहदानी प्रणाली कार्यान्वयनका क्रममा देखिएका प्राविधिक

आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र

काठमाडौं । सरकारले सबै मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई प्रगाढ तुल्याउँदै आवश्यकताअनुसार उच्चस्तरीय

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका