८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण



नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका अधिकांश बालकमा छाला रोगको सङ्क्रमण देखिएको छ ।

भेरी अस्पताल नेपालगन्जले आफ्नो १३६औँ स्थापना दिवसको अवसरमा आज सञ्चालित स्वास्थ्य शिविरमा गरिएको स्वास्थ्य परीक्षणबाट ती बालकमा छाला रोग सङ्क्रमण देखिएको हो ।

भेरी अस्पतालले एडभोकेसी फोरम नेपाल र जयेन्दु बालसुधार गृहसँगको समन्वय तथा सहकार्यमा आयोजना गरेको शिविरमा सुधार गृहमा रहेका १७३ बालकमध्ये ९८ जनाले विशेषज्ञ स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि सेवा प्राप्त गरेका छन् । स्वास्थ्य परीक्षणपछि आठ जनालाई थप उपचारका लागि भेरी अस्पताल पठाइएको छ ।

शिविरमा मनोसामाजिक परामर्श तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श सेवा उपलब्ध गराइएको थियो । स्वास्थ्य परीक्षणका क्रममा सबैभन्दा बढी छाला रोगका बिरामी भेटिएका छन् । परीक्षण गरिएका ९८ बालकमध्ये ७३ जनामा छाला रोग, १४ जनामा मेडिसिनसम्बन्धी समस्या, १२ जनामा नाक–कान–घाँटीसम्बन्धी समस्या, पाँच जनामा मानसिक स्वास्थ्य समस्या तथा चार जनामा दन्तसम्बन्धी समस्या देखिएको स्वास्थ्य टोलीले जनाएको छ । केही बालकमा एकभन्दा बढी स्वास्थ्य समस्या समेत रहेको चिकित्सकहरूले बताएका छन् ।

छाला तथा यौनरोग विशेषज्ञ डा सुवास पौडेलका अनुसार अधिकांश बालकमा लुतो र दादजस्ता सङ्क्रामक छाला रोग देखिएको छ । सुधार गृहमा बसोबास, सरसफाइ तथा व्यक्तिगत स्वास्थ्य व्यवस्थापनमा थप सुधार आवश्यक रहेको उनको भनाइ छ ।

नाक–कान–घाँटी विशेषज्ञ डा दिनेश चौधरीले केही बालकमा कान पाक्ने, सुनाइ कम हुनेलगायतका समस्या देखिएका छन् भने दन्तरोग विशेषज्ञ डा विवेककुमार महतोले दाँतमा कीरा लाग्ने, गीजा सुन्निने तथा दन्तहर्षजस्ता समस्या बढी देखिएको बताए । कन्सल्टेन्ट फिजिसियन डा सङ्केत रिसालका अनुसार पेट दुख्ने, कमजोरी महसुस हुने र छाती दुख्ने समस्या भएका बालक पनि भेटिएका छन् ।

शिविरमा मेडिसिन, छाला तथा यौनरोग, मानसिक स्वास्थ्य, बालरोग, दन्त, नाक–कान–घाँटी सेवा, मनोसामाजिक परामर्श तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।

सो अवसरमा भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालले बाँके जिल्ला अदालतसँग भएको पूर्वसम्झौताअनुसार अबदेखि जयेन्दु बालसुधार गृहमा नियमित मासिक स्वास्थ्य शिविर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।

जग्गादाता समाजसेवी जयकेश सिंहले बालसुधार गृहलाई वास्तविक अर्थमा सुधार र पुनःस्थापनाको केन्द्रका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए । एडभोकेसी फोरम नेपालका वरिष्ठ प्रदेश संयोजक तथा कार्यक्रम सञ्चालक अधिवक्ता वसन्त गौतमले कानुनी विवादमा परेका बालकहरूले पनि शिक्षा, स्वास्थ्यलगायत संविधान र बालअधिकारसम्बन्धी कानुनले सुनिश्चित गरेका आधारभूत अधिकार पूर्णरूपमा उपभोग गर्न पाउनुपर्ने बताए ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ९ : ३५ बजे

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि