काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिस्ट आन्दोलन अहिले गम्भीर चुनौतीपूर्ण अवस्थामा पुगेको उल्लेख गर्दै त्यसलाई पुनः एकताबद्ध गरी नयाँ ऊर्जा दिनुपर्ने आवश्यकता औँल्याएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पुष्पलाल र नरबहादुर कर्माचार्यजस्ता नेताहरूको योगदानको स्मरण गर्नु केवल औपचारिकता नभई कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्ने सङ्कल्प गर्ने अवसर भएको बताए।
उनले वर्तमान परिस्थितिमा राष्ट्रिय स्वाधीनतामाथि चुनौती देखिएको, कम्युनिस्ट आन्दोलन असाधारण अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेको र देशमा निरङ्कुश प्रवृत्ति बढ्दै गएको दाबी गर्दै ती चुनौतीको सामना गर्न कम्युनिस्ट शक्तिहरूलाई एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याए।
प्रचण्डले राष्ट्रिय स्वाधीनताको रक्षा, लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण तथा निरङ्कुश प्रवृत्तिविरुद्ध दृढतापूर्वक संघर्ष गर्न सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे।
उनले भने, ‘देशमा अहिले राष्ट्रिय स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्ने, कम्युनिस्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्ने, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने र देशमा देखापरेको निरङ्कुश प्रवृत्तिका विरुद्ध फेरि एकचोटि संघर्ष गर्ने दृढ अठोट गर्ने बेला आएको छ।’
प्रचण्डले पुष्पलालका सहयोद्धा नरबहादुर कर्माचार्यले नेपाली कम्युनिस्ट आन्दोलन, मजदुर आन्दोलन, वर्ग संघर्ष तथा क्रान्तिकारी आन्दोलनलाई संगठित र सुदृढ बनाउन महत्वपूर्ण योगदान दिएको स्मरण गरे। उनले कर्माचार्यको योगदानलाई वर्तमान पुस्ताले आत्मसात् गर्दै आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनुपर्नेमा जोड दिए।



















प्रतिक्रिया