नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल अन्तर्गतको शुलभ फार्मेसीले आफ्नो सेवालाई थप सहज र सरल बनाएको छ । अस्पताल फार्मेसीमा हुने गरेको सेवाग्राहीको चापलाई व्यवस्थापन गर्न फर्मेसीले आफ्नो सेवालाई विस्तार गरेको हो ।
एउटै कक्षबाट सेवा लिइरहेका केमो चढाउन आउने बिरामीहरुले अवदेखि डे केयर कक्षको केमो वार्डबाटै सेवा पाउने भएका छन् भने इमर्जेन्सी तथा शल्यक्रिया गर्ने विरामीका लागि छुट्टै काउण्टरको व्यवस्था मिलाइएको फार्मेसी प्रमुख दिनेश नेपालीले जानकारी दिए । उनका अनुसार जेष्ठ नागरिक, शारिरिक अवस्था कमजोर भएका अशक्त र गर्भवती महिलाहरुका लागि पनि छुट्टै काउण्टरको व्यवस्था मिलाइएको छ । यसअघि एउटै काउण्टरबाट औषधि खरिद गर्दा अत्याधिक भीड हुने र अशक्त र कमजोर सेवाग्राहीहरुले समस्या खेप्नु पर्ने अवस्था देखिएपछि फार्मेसी सेवालाई सरल बनाइएको नेपालीले बताए ।
खजुरा क्यान्सर अस्पताल क्यान्सर उपचारको विशिष्टकृत अस्पताल भएका कारण त्यस बाहेकका कतिपय औषधि अस्पतालले नमाउने गरेको फार्मेसी प्रमुख नेपालीले बताए । क्यान्सरका लागि प्रयोग हुने औषधिहरु भने अधिकतम फार्मेसीमा उपलब्ध रहेको उनले बताए ।
इमर्जेन्सी र शल्यक्रियाको तयारीमा रहेका बिरामीहरुले समयमा औषधि नपाउँदा अस्पतालको सेवा प्रभावित भएपछि फार्मेसीलाई सरल र सहज बनाइएको अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले बताए । फार्मेसीमा अस्पतालमा उपलब्ध औषधिको मौज्दाज देखिने गरि स्वचालित डिस्प्ले समेत राखिएको डा. भट्टराईले जानकारी दिए । सेवाग्राहीहरुले डिजिटल डिस्प्लेबाट अस्पतालमा मौज्दाज औषधिबारे जानकारी लिने सक्ने उनले विश्वास व्यक्त गरे ।



















प्रतिक्रिया