२५ भदौ २०८३, बिहिबार | September 10, 2026

एमबीएसको प्रश्नपत्र बाहिरिएपछि त्रिविद्वारा छानबिन समिति गठन, एक जना पक्राउ



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को एमबीएस प्रथम वर्ष प्रथम सेमेस्टरअन्तर्गत ‘MGT 515: Organizational Behavior’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक गर्ने आरोपमा ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार ‘एमबीएस फस्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र सार्वजनिक गर्ने ‘सुलभ सर’सहित अर्का एक जनालाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

सचिवालयका अनुसार प्रश्नपत्र बाहिरिएको घटना सार्वजनिक हुनासाथ शिक्षामन्त्री पोखरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग समन्वय गरी तत्काल अनुसन्धान प्रक्रिया अघि बढाउन पहल गरेका थिए।

पाँच मिनेटमै ह्वाट्सएपमा पुगेको थियो प्रश्नपत्र

गत साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको परीक्षा चलिरहेकै बेला प्रश्नपत्र ‘एमबीएस फस्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप समूहमा परीक्षा सुरु भएको करिब पाँच मिनेटमै पठाइएको खुलेको थियो।

घटनापछि फेसबुक पेज ‘टीयू स्टुडेन्ट्स’ ले ह्वाट्सएप समूहका स्क्रिनसट सार्वजनिक गर्दै प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै बाहिरिएको दाबी गरेको थियो। सार्वजनिक स्क्रिनसटमा ‘सुलभ सर’ नामबाट प्रश्नपत्र पठाइएको देखिन्छ।

स्क्रिनसटअनुसार प्रश्नपत्र पठाइएपछि समूहमा रहेका केशव भट्ट नामका व्यक्तिले ‘सर, सोलुसन पनि पठाइदिनु न’ भन्ने सन्देश पठाएका थिए। त्यसको केही मिनेटपछि अर्को पीडीएफ फाइलसमेत साझा गरिएको देखिएको छ।

त्यसैगरी, समूहका अर्का सदस्य सुजन पौडेलले ‘अब इकोनोमिक्सको परीक्षामा ढिला जान पर्ला सर, प्रश्नपत्र यसरी हाल्दिनुहोला’ भन्ने सन्देश लेखेको स्क्रिनसटमा देखिन्छ। उक्त ह्वाट्सएप समूहमा एक हजारभन्दा बढी सदस्य रहेको बताइएको छ।

साइबर ब्युरोलाई पत्राचार

घटनापछि त्रिविको व्यवस्थापन संकायले तत्काल साइबर ब्युरोलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि पत्राचार गरेको थियो।

व्यवस्थापन संकायका सहायक डीन डा. भरत राईद्वारा पठाइएको पत्रमा सामाजिक सञ्जालमा सार्वजनिक भएका स्क्रिनसटमा देखिएका व्यक्तिहरू, संस्था तथा सम्भावित परीक्षा केन्द्रको पहिचान गरी कानुनी कारबाहीका लागि आवश्यक सहयोग गर्न आग्रह गरिएको छ।

तीन सदस्यीय छानबिन समिति गठन

घटनाको सत्यतथ्य पत्ता लगाउन त्रिविको परीक्षा सञ्चालन समितिको साउन १० गते बसेको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।

व्यवस्थापन केन्द्रीय विभागका प्राडा. अच्युत ज्ञवालीको संयोजकत्वमा गठित समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक तथा सहप्राध्यापक डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन्।

व्यवस्थापन संकायका डीन प्राडा. महानन्द चालिसेद्वारा जारी विज्ञप्तिअनुसार समितिलाई कार्यभार सम्हालेको सात कार्यदिनभित्र घटनाको विस्तृत छानबिन गरी प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ।

 

प्रकाशित मिति : १० श्रावण २०८३, आइतबार  १ : १६ बजे

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

नवनियुक्त मन्त्री साह भन्छन् – ग्यास आपूर्ति सहज बनाउने पहिलो प्राथमिकता

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पदभार