काठमाडौं । नेकपा (एमाले)ले सुनसरीमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने भन्दै प्रतिनिधिसभामा प्रश्न उठाएको छ ।
१४ दिनपछि बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले विगतमा काठमाडौंमा गोली चल्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई नैतिक रूपमा जिम्मेवार ठहर गरिएको प्रसंग स्मरण गराउँदै अहिले सुनसरीमा पनि ज्यान गएको अवस्थामा वर्तमान सरकारको जवाफदेहिता कहाँ छ भनी प्रश्न गरिन् ।
उनले भनिन्, ‘काठमाडौंमा गोली चल्दा र मान्छे मर्दा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले जवाफदेही हुनुपर्छ, थुनामा बस्नुपर्छ, राजीनामा दिनुपर्छ भन्ने अवस्था सिर्जना गरियो। आज सुनसरीमा गोली चल्दा र मान्छे मर्दा वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिनुपर्छ कि पर्दैन ? नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’
अर्यालले देशको शान्ति-सुरक्षा अवस्था कमजोर बन्दै गएको आरोप लगाउँदै सरकारले दंगा नियन्त्रण गर्नुको सट्टा त्रासको वातावरण सिर्जना गरेको दाबी गरिन् ।
उनले मुलुकमा अशान्ति बढिरहेका बेला प्रधानमन्त्रीको सक्रिय भूमिका आवश्यक रहेको पनि उल्लेख गरिन्। ‘यो मुलुकका प्रधानमन्त्री कहाँ हुनुहुन्छ ? प्रधानमन्त्रीको पद सिंहदरबारमा सजाउन बनाइएको होइन। उहाँ जनताबीचमा देखिनुपर्छ, संवाद गर्नुपर्छ’, उनले भनिन् ।
अर्यालले नागरिकको सुरक्षा सुनिश्चित गर्न सरकार असफल भएको आरोप लगाउँदै वर्तमान परिस्थितिमा राज्यले प्रभावकारी रूपमा शान्ति–सुरक्षा कायम गर्न नसकेको टिप्पणी गरिन्।
साथै, देशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न आवश्यक परे एमालेले सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको पनि उनले बताइन्।

















प्रतिक्रिया