काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी घटनापछि देशका विभिन्न क्षेत्रमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै सामाजिक, धार्मिक तथा सांस्कृतिक सद्भाव कायम राख्न सबै नेपालीलाई अपिल गरेका छन्।
निर्मल निवासस्थित संवाद सचिवालयमार्फत बिहीबार जारी गरिएको सद्भाव सन्देशमा उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै नेपालको पहिचान र गौरव रहेको बताएका छन्।
उनले नेपाली समाज परापूर्वकालदेखि नै आपसी प्रेम, सहिष्णुता, सद्भाव र सहअस्तित्वका आधारमा अघि बढ्दै आएको उल्लेख गर्दै सामाजिक, धार्मिक वा सांस्कृतिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि स्वीकार्य हुन नसक्ने धारणा व्यक्त गरेका छन्।
सन्देशमा केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्व तथा विवादका कारण जनधनको क्षति हुनुका साथै त्यसको प्रभाव कोशी प्रदेश र तराईका विभिन्न क्षेत्रमा फैलिएकोप्रति दुःख व्यक्त गरिएको छ।
‘समाजका सबै समुदायबीच सामञ्जस्य कायम रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना हुनु चिन्ताको विषय हो। यो हाम्रो मौलिक मूल्य र मान्यताविपरीतको विषय हो,’ सन्देशमा उल्लेख छ।
पूर्वराजा शाहले देशका जुनसुकै भूभागमा बसोबास गर्ने नेपालीलाई एकता, मेलमिलाप र पारस्परिक सम्मानका साथ अघि बढ्न आग्रह गर्दै वर्तमान परिस्थितिमा सामाजिक सद्भाव जोगाउनु नै सबैभन्दा ठूलो आवश्यकता भएको बताएका छन्। उनले सबै नेपाली मिलेर शान्ति, सहिष्णुता र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

















प्रतिक्रिया