जनकपुरधाम । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा आज एक जना युवालाई गोली लागेर मृत्यु भएको घटनाको सत्यतथ्य छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधाम धनुषाका प्रहरी उपरीक्षक भेषराज रिजालको संयोजकत्वमा मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक यशराज भट्ट र प्रहरी सहायक निरीक्षक गोविन्द झा सदस्य रहनेगरी छानबिन समिति गठन गरिएको हो ।
समितिलाई घटनाको सत्यतथ्य छानबिन गर्न कार्यादेश दिइएको धनुषाका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले जानकारी दिए । समितिलाई घटनासम्बन्धी तथ्य सङ्कलन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
सप्तरीको बोदेबरसाइन नगर क्षेत्रमा कर्फ्यू
जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको बोदेबरसाइन नगरपालिका क्षेत्रमा शान्ति, सुरक्षा कायम राख्न कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६-क) बमोजिम कर्फ्यू लागू गरिएको हो ।
आज राति १०ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि बोदेबरसाइन नगरपालिका क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ । बोदेबरसाइन नगरपालिकाको सीमा पूर्वमा हुलाकी राजमार्गको खडक पुल, पश्चिममा प्रितमपुर चोक, उत्तरमा नेगडा बैरिया चोक र दक्षिणमा मानराजा चोकसम्म कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।
कर्फ्यू आदेश उल्लङ्घन गरी कुनै पनि प्रकारका गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ । बोदेबरसाइन नगर क्षेत्रमा पछिल्ला दिनमा उत्पन्न तनाव तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यू आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

















प्रतिक्रिया