सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका-२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच आठबुँदे सहमति भएको छ ।
शुक्रबार राति लहानमा जिल्ला सुरक्षा समितिको बैठकपछि गृहमन्त्री सुधन गुरुङ मृतक यादवको घर पुगेर परिवारसँग छलफल गरेका थिए। त्यसपछि भएको वार्तामा आठबुँदे सहमति भएको गृहमन्त्री गुरुङले जानकारी दिए ।
सहमतिअनुसार घटनाको निष्पक्ष छानबिन गरिने, गणेश यादवलाई राज्यका तर्फबाट सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाइने तथा परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइनेछ ।
यस्तै, मृतकका दाइ र बहिनीलाई निःशुल्क शिक्षा तथा स्वास्थ्य सेवा उपलब्ध गराइने, गणेश यादवको स्मृतिमा पार्क निर्माण गरिने, उनका बुबाआमाको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिने तथा शव बुझेर अन्त्येष्टि गर्ने सहमति भएको छ । अन्त्येष्टिका लागि आवश्यक खर्चसमेत सरकारले व्यहोर्ने सहमति भएको गृहमन्त्रीले बताए ।
शवको अवस्थाबारे जानकारी दिँदै गृहमन्त्री गुरुङले पोस्टमार्टमका लागि शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र अनुसन्धान प्रक्रिया पूरा भएपछि हेलिकोप्टरमार्फत सिरहा ल्याएर परिवारलाई जिम्मा लगाइने बताए ।
घटनाको निष्पक्ष अनुसन्धान हुनेमा स्थानीयको विश्वास कसरी कायम हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री गुरुङले स्वतन्त्र र निष्पक्ष छानबिन समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार सुनसरी र सिरहाका दुवै घटनाको अनुसन्धानका लागि अनुभवी अनुसन्धानकर्ता तथा विज्ञ सम्मिलित समिति गठन गरिएको छ । समितिले घटनाको सत्यतथ्य सार्वजनिक गरी दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याइने उनले बताए ।
गत साउन १४ गते सुनसरीको देवानगञ्ज घटनाको विरोधमा गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । उक्त घटनापछि न्यायको माग गर्दै स्थानीयले निरन्तर आन्दोलन गर्दै आएका थिए ।


















प्रतिक्रिया